राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर १०,सारिबाङ्ग-कात्तिक महिनाको पुर्णिमा मेलामा बिहानैदेखि रंगीन रौनक,चहल–पहल र सांस्कृतिक उत्साह देखिन्थ्यो। तर भीड, संगीत र उत्सवबीच,एक कुनामा निःशुल्क स्वास्थ्य सेवा शिविरले सबैको ध्यान खिचिरहेको थियो।
डाक्टरको हातमा स्टेथेस्कोप थियो,टेबलमा औषधिहरू व्यवस्थित राखिएका थिए र स्वास्थ्यकर्मीहरू मेलामा आएका वृद्ध–वृद्धा,महिला र बालबालिकालाई सुरक्षित,व्यवस्थित र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै थिए।भीड र हल्लाहल्लाबीच पनि सेवा केन्द्र शान्त र सुव्यवस्थित देखिन्थ्यो।
लामो यात्रा,घाम-धूलो र खानपानको अनियमितताका कारण केही मानिसहरू असहज देखिन्थे। यही कारणले,निमतारा पोलिक्लिनिक बिजुवारले मेलाभर स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। डा. सुवास जि.सि र स्वास्थ्यकर्मीहरूले बिहानैदेखि रक्तचाप मापन,सुगर जाँच,सामान्य उपचार, स्वास्थ्य परामर्श र आवश्यक औषधि वितरणमा सक्रिय रहे।
उनीहरूको उद्देश्य स्पष्ट थियो मेलामा सहभागी सबैको स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिनु।
कतिपय वृद्ध आमाहरू २–३ घण्टाको पैदल यात्रा गरेर मेलामा आइपुगेका थिए।
लाइनमा बसेका सेवाग्राहीहरूको अनुहारमा राहत र मुस्कान देखिन्थ्यो।मेला हेर्न त आइयो,स्वास्थ्य चेकजाँच पनि भयो,धेरै काम लाग्यो।”यस्ता प्रतिक्रिया बारम्बार सुन्न पाइन्थ्यो।
कसैको खुट्टा दुखेको,कसैलाई श्वास-प्रश्वासमा समस्या, कसैलाई सुगर वा रक्तचाप समस्या-भीड र लामो यात्रा गर्दा देखिएका यी चुनौतीहरू स्वास्थ्यकर्मीले तुरुन्त समाधान गरे।
डा. जि.सि मुस्कुराउँदै भन्छन्,-“मेला रमाइलो हो,तर स्वास्थ्य चुनौती भेटिन्छ। दर्शकलाई स्वास्थ्य सेवा प्रदान गराउने उद्देश्यले निशुल्क सेवा प्रदान गर्ने योजना बनाएका हौं।आज ७५ भन्दा बढी नागरिकले तत्काल उपचार पाए।”
मेलामा निरन्तर सेवा प्रदान गर्दै डाक्टर सुवास जि.सि
मेलामा उपस्थित स्वास्थ्य शिविरले केवल रोग निवारणमा सहयोग पुर्याएको छैन, समुदायमा स्वास्थ्य चेतना फैलाउने, सुरक्षित वातावरण निर्माण गर्ने र मेलालाई मानवमैत्री स्थलमा रूपान्तरण गर्ने काम पनि गरेको छ।
भीडबीच, रंगीन पोशाकमा सजिएका बालबालिका, सांस्कृतिक प्रस्तुतिमा रमाइरहेका युवाहरू र आफ्नो अनुहारमा मुस्कान लिएर स्वास्थ्य सेवाबाट फाइदा लिएका वृद्ध–वृद्धाहरू-यी सबैले मेलालाई मनोरञ्जन,आस्था र स्वास्थ्यको संगम बनाएका छन्।
डाक्टरको स्टेथेस्कोप,टेबलमा राखिएका औषधिहरू, स्वास्थ्यकर्मीको समर्पण र सेवाग्राहीको सहजता-यी सबै मिलेर पुर्णिमा मेलालाई केवल उत्सवको ठाउँ मात्र नभई सुरक्षित,स्वास्थ्य-अनुकूल र समुदायमैत्री स्थलमा परिणत गरेको छ।
प्रतिक्रिया राख्नुहोस्