प्यूठान, नेकपा (एमाले) जनसंगठन समन्वय संयन्त्रको बैठक शनिबार उमेश स्मृति प्रतिष्ठान,बिजुवारमा सम्पन्न भएको। जिल्लाभर सञ्चालन भइरहेका जनपरिचालन अभियानलाई प्रभावकारी बनाउने तथा आगामी गतिविधिहरूलाई थप व्यवस्थित गर्ने उद्देश्यले उक्त बैठक बसेको हो।
बैठकका अध्यक्ष तथा संयोजक विजय बिराज बिष्टले संगठन सुदृढीकरणलाई पार्टीको मुख्य प्राथमिकता भएको उल्लेख गर्दै जनपरिचालनलाई अझ व्यापक र जनमुखी ढंगले अघि बढाउन नेतृत्वदायी भूमिका आवश्यक पर्ने बताउनुभयो।
“हामीले जनपरिचालनलाई संगठन सुदृढीकरणको मुख्य अभियानका रूपमा अघि बढाउनुपर्छ,” बिष्टले भन्नुभयो, “सबै जनसंगठनबीचको समन्वय र सहकार्यबाट मात्र पार्टीलाई थप सबल र जनमुखी बनाउन सकिन्छ।”
पार्टीले कात्तिक २९ गते प्यूठानमा आयोजना गर्न लागेको सद्भाव र्याली सम्बन्धी तयारीको अवस्थाबारे जानकारी दिँदै उनले जनसंगठनहरूले र्यालीलाई भव्य र सफल बनाउन आफ्नो भूमिकालाई अझ उर्जाशील बनाउने विश्वास व्यक्त गर्नुभयो।
बैठकमा विभिन्न जनसंगठनका प्रमुख, संयन्त्र सदस्य तथा जिम्मेवारीमा रहेका नेताहरूले पार्टी अभियान, जनसंपर्क विस्तार, संगठनात्मक सक्रियता र जनस्तरसम्म पुग्ने रणनीतिबारे सुझावहरू राख्नुभयो।
चर्चा तथा सुझावसहितको बैठकले जनपरिचालन अभियानलाई अधिक प्रभावकारी बनाउने तथा संगठन सुदृढीकरणलाई प्राथमिक एजेन्डाका रूपमा अघि बढाउने निष्कर्ष निकालेको छ। साथै, आगामी सद्भाव र्यालीमा पार्टी कार्यकर्तासँगै आम नागरिकहरूको सहभागिता सुनिश्चित गर्न सबै जनसंगठनहरू सक्रिय रुपमा जुट्ने निर्णय बैठकले गरेको छ।
बैठकमा प्रदेश कमिटी सदस्य श्रीधर रोका, जिल्ला पार्टी सचिव इन्द्रमणी पोख्रेलसहित विभिन्न जनवर्गीय संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्