राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानको चर्चित पर्यटकीय स्थल बाइसधारा-जहाँ खुला आकाशमुनि विद्यार्थीहरूको भीड हेर्दा लाग्थ्यो,प्रकृतिसँगको साक्षात्कार गर्दै एउटा नयाँ अध्याय सिकाइको संसारमा लेखिँदै थियो। कसैले घोल चलाउँदै थिए,कसैले काठ–दाउरा मिलाउँदै, कसैले साथीको सेल रोटी फनक्क फर्किएको देखेर हाँस्दै। त्यो वातावरणले एक स्पष्ट सन्देश दिइरहेको थियो-सिकाई केवल किताबको पानामा सीमित हुँदैन;अनुभवले छुँदा मात्र जीवन्त बन्छ।
अनुभवमूलक शिक्षणको जीवन्त रुपान्तरण
खुला वातावरणमा सिकाइ गर्दा विद्यार्थीहरूको ऊर्जा,उत्साह र आचरण नै अलग देखिन्थ्यो।परम्परागत सीपको पुस्तान्तरणसँगै व्यवहारिक ज्ञान जोड्ने उद्देश्यले प्युठान नगरपालिका द्वारा तयार गरिएको स्थानीय पाठ्यक्रम अन्तर्गत बाल बिध्या माध्यमिक विद्यालयले सञ्चालन गरेको “सेल रोटी बनाउने प्रयोगात्मक अभ्यास” विद्यार्थीहरूको लागि एक अविस्मरणीय अवसर बन्यो।
सधैँ चुपचाप बस्ने विद्यार्थी नेता जस्तै सक्रिय बने,डराउनेले तेलको तापक्रम सम्हाल्ने जिम्मेवारी लिए,कसैले साथीको गोलाइ मूल्यांकन गर्दै रमाइलो गरे,कसैले सुरक्षा सम्झाउँदै नेतृत्व प्रस्तुत गरे।
यात्राको अन्त्यमा सबैले स्वतःस्फूर्त सरसफाइमा हातेमालो गर्नु उनीहरूको अनुशासन र जिम्मेवारीबोधको सुन्दर परिचय थियो।
यस अभ्यासले विद्यार्थीहरूलाई सेल रोटी बनाउन सिकाएको मात्र होइन-त्यसको सांस्कृतिक महत्व,चाडपर्वसँगको सम्बन्ध, परिवारभित्र कर्तव्य बाँडफाँड, स्थानीय परम्पराको संवेदनशीलता जस्ता विषयहरू गहिरोसँग बुझायो।
विद्यार्थीहरूको पहिलो अनुभव हास्यास्पद तर सिकाइपूर्ण थियो-कसैको रोटी च्यातियो,कसैको चप्पलजस्तो बन्यो,कसैको गोलाइ एक छेउतिर मोडियो।तर यही त्रुटिहरू उनीहरूको सबभन्दा ठूलो शिक्षक बने।
दोस्रो-तेस्रो प्रयासमा धेरैले सुनौलो,आकर्षक र पूर्ण गोलो सेल रोटी निकाल्दा अनुहारमा आएको खुशी,गर्व गर्ने साथीहरूको आवाज-उही दिनका सुन्दर क्षणहरू थिए।
“हामी घरमा आमाले बनाउनु भएको हेर्थ्यौँ,आज आफैंले बनायौँ।”भनेर विद्यार्थीहरूले व्यक्त गरेको उत्साह-यो केवल सीप नभई भावनात्मक सम्बन्धको पुनःजोड थियो।
शिक्षकको भूमिका : निर्देशनभन्दा बढी प्रेरणा
कार्यक्रमभर शिक्षकहरू केवल अनुगमनकर्ता होइन प्रेरक बने।
उनीहरूले समूह व्यवस्थापन, सुरक्षा,मार्गनिर्देशन र प्रोत्साहनमार्फत “त्रुटिबाट सिक्नुपर्छ” भन्ने वातावरण निर्माण गरिदिए।त्यही कारण विद्यार्थीहरूले कन्फिडेन्स जुटाउँदै स्वतन्त्र रूपमा काम गर्न सके।
बाइसधाराको प्राकृतिक सौन्दर्य,खुला स्थल,ऐतिहासिक महत्त्व र सेल रोटी बनाउने गतिविधिले यहाँ शैक्षिक पर्यटनको सम्भावना कत्तिको ठूलो छ भन्ने उजागर गर्यो।
विद्यार्थीहरूको सहभागिता,तस्बिर-भिडियो खिच्ने उत्साह,चहलपहल-सबैले यस क्षेत्रलाई शैक्षिक,सांस्कृतिक र अनुभवमूलक गन्तव्यका रूपमा उभ्याउने संकेत दिए।
विद्यालय र स्थानीय समुदायबीचको यस्तो सहकार्यले संरक्षण,प्रवर्द्धन र जागरूकता बढाउँदै क्षेत्रको उपयोगिता अझै विस्तार गर्ने अपेक्षा राखिन्छ।
सिकाई-परीक्षाका लागि होइन, जीवनका लागि
सेल रोटी बनाउने साधारण अभ्यास जस्तो देखिए पनि यसले विद्यार्थीहरूमा आत्मनिर्भरता,घरेलु सीप,संस्कृतिप्रतिको गर्व,नेतृत्व क्षमता,समूह भावना,व्यवहारिक शिक्षा,जस्ता महत्वपूर्ण पक्षहरूलाई मजबुत बनाइदियो।
दैनिक पढाइभन्दा फरक,खुला वायुमण्डलमा बिताएको दिन-सेल रोटीको स्वाद,साथीहरूबीचको हाँसो,धुवाँ र तेलको सुगन्ध,प्रकृतिको नजिक बिताएका क्षण-सबैले यो भ्रमणलाई स्मरणीय र अर्थपूर्ण बनाए।
कक्षा ७ र ८ कक्षामा अध्ययनरत ती बिध्यार्थिहरुलाई बाइसधाराको त्यो खुला आकाशमुनि सुरु भएको एउटा साधारण अभ्यास-विद्यार्थीहरूको जीवनमा साँचिकै अर्थपूर्ण अध्याय बनेर रह्यो।
प्रतिक्रिया राख्नुहोस्