प्रदेश सभा सदस्य शर्माले गरे उद्घाटन,सरुमारानीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

प्रदेश सभा सदस्य शर्माले गरे उद्घाटन,सरुमारानीमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

सिता बि.क.
प्युठान,सरुमारानी गाउँपालिकामा आयोजना हुने गाउँपालिका स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माले गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै सदस्य शर्माले राष्ट्रपति रनिङशिल्डले गाउँपालिकाको शैक्षिक तथा खेलकुद विकासमा नयाँ ऊर्जा भरेको बताउनुभयो।उहाँका अनुसार,“राष्ट्रपति रनिङशिल्डले विद्यार्थीमा नेतृत्व क्षमता,अनुशासन र आत्मविश्वासको विकास मात्र गर्दैन,उनीहरूको भविष्य निर्माणका लागि बलियो आधार तयार गर्छ। आज यहाँ उपस्थित हरेक विद्यार्थी खेलाडीमा अपार सम्भावना देखिन्छ र भविष्यमा यिनै अनुहारहरू प्रदेश तथा राष्ट्रिय स्तरमा चम्कनेछन् भन्ने मलाई गहिरो विश्वास छ। विद्यार्थीको प्रतिभा पहिचान र उनीहरूको विकासका लागि प्रदेश सरकार निरन्तर साथमा रहनेछ।”

त्यस्तै,गाउँपालिका अध्यक्ष झगबहादुर बिश्वकर्माले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता केवल खेलकुदसम्म सीमित नभई विद्यार्थीको प्रतिभा पहिचान,आत्मविश्वास वृद्धि र विद्यालय विद्यालयबीचको सहकार्यलाई गहिरो बनाइरहेको बताउनुभयो।अध्यक्ष बिश्वकर्माले दर्भान खेल मैदानमा उपस्थित भई खेलाडी भाई-बहिनीहरूको हौसला उच्च राख्न आग्रह गर्नुभयो।उहाँले खेलकुदलाई केवल प्रतिस्पर्धा मात्र नभई स्वास्थ्य,अनुशासन र सामाजिक सम्बन्ध विकासको प्रमुख माध्यमका रूपमा महत्व दिनुपर्नेमा जोड दिनुभयो।

उद्घाटन कार्यक्रममार्फत विभिन्न विद्यालयका विद्यार्थीहरूले आकर्षक झाँकी तथा अनुशासित मार्चपास प्रस्तुत गरेका थिए।कार्तिक २५ देखि २७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ११ वटा सामुदायिक तथा सस्थागत  विद्यालयहरूका छात्र छात्राहरुको सक्रिय सहभागिता रहेको आयोजकले जनाएको छ।विद्यार्थीको शारीरिक क्षमता,खेल कौशल तथा स्वस्थ प्रतिस्पर्धात्मक भावना विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा एथलेटिक्स,बास्केटबल,भलिबल, कबड्डी,ज्याभलिन,शटपुट लगायतका विभिन्न खेल विधामा प्रतिस्पर्धा हुनेछन्।कार्यक्रमलाई सफल र व्यवस्थित बनाउन गाउँपालिका शिक्षा शाखा,स्थानीय शिक्षक,अभिभावक तथा स्वयंसेवक सक्रिय रूपमा संलग्न रहेका छन्। समापन दिवसमा उत्कृष्ट खेलाडी तथा समग्रतामा उत्कृष्ट विद्यालयलाई सम्मान गरिनेछ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताबाट विद्यार्थीको प्रतिभा निखारिने,खेलकुद संस्कृतिलाई सुदृढ बनाउने र विद्यालयबीचको समन्वयलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।