प्युठानका ८३ हजार बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने

प्युठानका ८३ हजार बालबालिकालाई टाइफाइड बिरुद्धको खोप लगाइने

 राम बहादुर बिश्वकर्मा

प्युठान,प्युठानमा करिब ८४ हजार बालबालिकालाई टाइफाइट रोग विरुद्धको खोप लगाइने भएको छ ।

खोपबाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने नेपाल सरकारको लक्ष्य अनुसार बढ्दो टाइफाइड रोग विरुद्ध खोप अभियान अन्तर्गत प्युठानमा पनि १५ महिना देखी १५ बर्ष उमेर समुहका बालबालीकाहरुलाई उक्त खोप लगाईने भएको हो ।यहि चैत २५ देखि ३० गतेसम्म जिल्लाका बालबालीकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाइने स्वास्थ्य कार्यालय प्युठानका खोप फोकल प्रसन कोशल राज बैद्दले जानकारी दिनुभयो ।उहाँका अनुसार प्युठानमा जिल्लाभर रहेका ९ वटै स्थानीय तहका ८३ हजार ८४ बालबालीकालाई खोप लगाईने लक्ष्य रहेको छ ।बैद्दका अनुसार यसअघि प्युठानमा बालबालीकाहरुलाई नियमित रुपमा १२ प्रकारका सरुवा रोगहरुको मात्र खोप लगाउने गरिएको थियो। तर अब भने टाईफाईट बिरुद्धको खोप पनि नियमित खोप कार्यक्रम अन्तर्गत नै समाबेश गरिने पूर्ण खोपको सुनिश्चतता गर्न तथा खोप कभरेज ९५ प्रतिशत पुर्याउन जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको बताईएको छ ।टाइफइड खोप अभियानबारे जानकारी गराउने,सामुदायीक पहुँचमा बृद्धि गर्ने र स्वास्थ्य सेवा कार्यालयले दिदै आएको विभिन्न सेवाहरुबारे जानकारी गराउने उद्धेश्यका साथ जिल्लामा कृयाशिल सन्चारकर्मी को अभिमुखिकरण कार्यक्रम अन्तर्गत आज स्वास्थ्य कार्यालय बिजुवारमा एक कार्यक्रमको आयोजना गरि जिल्लाभर कुल ४ सय ४२ खोप केन्द्रबाट खोप लगाईने जानकारी गराईएको छ।५ बर्ष माथीका बालबालीकाहरुलाई बिद्यालयमै पनि खोप लगाईने छ भने अवस्था हेरेर आवश्यकता अनुसार एउटा वडामा कम्तीमा २ देखी ४ वटा सम्म खोप केन्द्रबाट पनि खोप सेवा प्रदान गरिने छ।खोपबाट कोही बालबालिका नछुट्ने गरी गाउँ तथा विद्यालयमा खोप टोली परिचालन गरिने भएको छ । सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिने छ । यो खोप निशुल्क पाइने र खोप केन्द्रमा ६ सय ९४ खोप स्वास्थ्यकर्मी र १ हजार ३ सय ८८ जना स्वयंसेवक परिचालन गरिने जनाएको छ ।टाईफाईट बिरुद्धको खोप अत्यन्तै प्रभावकारी रहेकाले बालवालीकाहरुलाई तोकिएको मिती र खोप केन्द्रमा लगेर खोप लगाउन स्वास्थ्य सेवा कार्यालय प्युठानले आग्रह गरेको छ।अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रममा खोप फोकल प्रसन कोशलराज बैद्दले टाइफाइड रोग, यस बिरुद्धको खोप अभियान,विश्व तथा नेपालमा खोप र टाइफाइडको अवस्था, महत्व तथा आवश्यकताबारे प्रस्तुति राख्नुभएको थियो । 

कार्यक्रममा स्वास्थ्य कार्यालयले संचालन गरेका बिभिन्न कार्यक्रमहरुको बारेमा पनि जानकारी गराईएको थियो ।राष्ट्यि खोप कार्यक्रम मार्फत तोकिएका सबै खोप समतामुलक रुपमा सबैको पहुँचमा हुने गरी बालबालिका तथा गर्भवति महिलाहरुलाई गुणस्तरिय सुरक्षित खोपविस्तार निरन्तर रुपमा संचालन गरिने तथा प्रत्येक बालबालिकाले पुर्ण खोप लगाएको सुनिश्चित गर्ने गुणस्तरिय खोप सेवाका लागी आपुर्ति व्यवस्था तथा खोप व्यवस्थापन प्रणालिलाई सुदृढ गर्ने लक्ष रहेको जिल्ला स्वास्थ्य प्रमुख मधुसुदन खड्काले जानकारी दिनुभयो ।

स्वास्थ्य प्रमुख खड्काले खोप लगाउनमा कोहि नछुटुन भनेर सन्चारकर्मिलाई अभिमुखिकरण तथा अन्तरक्रिया गरिएको समेत जानकारी दिनुभयो।टाइफाइड खोप लगाएपछि सुई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नीहरू जस्ता असरहरू हुन सक्छन् र यस्ता सामान्य असरहरू विस्तारै आफै ठीक भएर जान्छन् । खोप लगाएपछि यस्ता लक्षणहरू बाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न पनि आग्रह गरिएको छ ।

यो खोप विगतमा कुनै खोप लिँदा गम्भीर प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनु हुँदैन । साथै हाल उच्च ज्वरो आएका वा सिकिस्त बिरामीले लगाउनु हुँदैन । तर बिरामी ठीक भइसकेपछि भने खोप लिन सकिन्छ । टाईफाइड जस्ता पानी र सरसफाइ जन्य संक्रामक रोगबाट बच्नका लागि पानीलाई उमालेर वा फिल्टर गरेर मात्र पिउनुपर्ने बताइएको छ ।

टाइफाइ रोग भनेको के हो ?

टाइफाइडलाई म्यादे ज्वरो ज्यानै जोखिममा पार्न सक्ने संक्रमक रोग हो । ढल वा संक्रमित व्यक्तिको दिसामा पाइने टाइफाइड रोगका जिवाणु स्वस्थ व्यक्तिमा दुषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग सबै उमेर समूहको व्यक्तिहरुमा लागेको पाइएता पनि विशेष गरी १५ वर्ष मुनिका बालबालिकामा धेरै हुने गरेको पाइएको छ ।

यो रोगको लक्षण के के हुन् ?

उच्च ज्वरो आउने,टाउको दुख्ने,जिउ दुख्ने,पसिना आउने र जिव्रोमा सेतो लेत लाग्ने लगायतका समस्या हुन्छ। कसैकसैलाई पेट दुख्ने, पखला लाग्ने,वाकवाकी लाग्ने,भोक नलाग्ने,शरीरमा रातो विमिरा आउने आदी लक्षण र चिन्ह पनि देखिन सक्छ।यो रोगको संक्रमणबाट केही व्यक्तिहरुमा शरीरका विभिन्न भागमा संक्रमण फैलने सानो आन्द्रामा घाउ हुने र प्वाल पर्ने र मस्तिष्क सम्वन्धी जटिलता समेत देखा पर्न सक्छन ।