राम बहादुर बिश्वकर्मा
प्युठान,कृषकहरूको आवाजलाई प्राथमिकतामा राख्दै प्युठान नगरपालिकाले सोमबार नगरभित्र अनुदानमा मल वितरण गर्ने सातवटा सहकारी संस्थामा रासायनिक मल (युरिया, डिएपी लगायत)को विक्री–वितरण प्रणालीको अनुगमन गरेको छ।
प्युठान नगरपालिकाका उप-प्रमुख देवेन्द्र वर्माका अनुसार,कृषकहरूले मल पाउने प्रणालीमा शंकास्पद गतिविधि र असमान मूल्य निर्धारणको गुनासो दिएका थिए। त्यसैको प्रतिक्रियास्वरूप अनुगमन टोलीले सहकारी संस्थाहरूको स्टक मिलान, मूल्य एकरूपता सुनिश्चित गर्ने र वितरण केन्द्रमा सिल मुहर लगाउने कार्यहरू संचालन गरेको छ।
उप-प्रमुख वर्माले भने, “कृषकको गुनासो सुन्ने, समाधान गर्ने र सहकारी प्रणालीलाई चुस्त बनाउने-यो नै जिम्मेवार स्थानीय सरकारको पहिचान हो। हाम्रो उद्देश्य किसानहरूले सहज,पारदर्शी र व्यवस्थित रूपमा मल पाउने वातावरण सिर्जना गर्नु हो।”
नगरपालिकाको यो पहलले कृषकहरूको हकहित सुनिश्चित गर्दै, पारदर्शिता र विश्वसनीय बजार व्यवस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको छ। अनुगमनपछि कृषकहरूले मल प्राप्त गर्ने प्रक्रिया अझ व्यवस्थित र भरोसायोग्य भएको अनुभव गरेका छन्। यसले नगरपालिकाप्रति कृषकहरूको विश्वास बढाउने र सहकारी प्रणालीको प्रभावकारिता मजबुत बनाउने अपेक्षा गरिएको छ।
प्युठान नगरपालिकाले आगामी दिनहरूमा पनि कृषकहरूबाट प्राप्त सुझाव र गुनासोको आधारमा अनुगमन तथा सुधार कार्य निरन्तर जारी राख्ने योजना बनाएको छ। यसले स्थानीय सरकारको दिगो विकास र किसानमूलक नीतिलाई अघि बढाउने संकेत दिने भएको छ।
प्रतिक्रिया राख्नुहोस्