दिनदहाडै सुरक्षा कमजोर,प्यूठानमा वृद्धा घरमै लुटिइन्

राम बहादुर बिश्वकर्मा
प्युठान,प्यूठानको झिमरुक गाउँपालिका–५ ददेरीको शान्त बस्ती आइतवार करिब दिउँसो १२ बजे अकस्मात् कोलाहलले भरियो।सामान्यतया पहाडको मध्यान्हको समय शान्त हुन्छ,तर ७५ वर्षीया बसन्ता गिरीमाथि भएको दिनदहाडै लुटपाट र चक्कु प्रहारले त्यो पूर्ण शान्ति एकैपटक चकनाचूर भयो।
स्थानीयहरूका अनुसार बसन्ता गिरी घरायसी काम गर्दै सामान्य जीवन बिताउने वृद्धा हुन्।दिउँसोको समयमा उनी एक्लै घरमै हुनु कुनै असामान्य कुरा थिएन-तर यही एक्लोपन नै अपरिचित आक्रमणकारीका लागि अवसर बन्यो।
घरमा एक्लै बसिरहेकी बसन्ता गिरी अचानक एक अपरिचित व्यक्तिसँग आमनेसामने भइन्।केही क्षणमै परिस्थिती शरीरभरि पर्ने चोट र चक्कुका घाउमा परिणत भयो। आक्रमणकारीले बारम्बार हातपात मात्र गरेन,सुनका गरगहना लुटेर फरार हुनुअघि गम्भीर रूपमा घाइते पारेर गयो।
एक वृद्ध महिलालाई यस्तो निर्दयी ढंगले लक्ष्य बनाएको दृश्यले स्थानीयलाई अहिले पनि स्तब्ध बनाइरहेको छ।
मलाई नमार बरु म गहना दिन्छु बचाउ बचाउ भन्दै वृद्ध महिला चिच्याईन आवाज सुनेपछि छिमेकीहरू दौडिँदै घटनास्थल पुगे। तत्काल खबर गाउँपालिका पुग्यो। झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमोद पोख्रेलदेखि वडा नं. १ का अध्यक्ष धुर्वराज खनाल,वडा नं. ७ का अध्यक्ष कृष्णबहादुर जि.सी सहितका जनप्रतिनिधि पनि क्षणभरमै त्यहाँ उपस्थित भए।
उनीहरूका अनुसार, “समयमै उद्धार नभएको भए अवस्था झन् गम्भीर हुन सक्थ्यो।”
घाइते अवस्थाकी गिरीलाई स्थानीयले ओखरकोट स्वास्थ्य चौकी,ढाड पुर्‍याए। स्वास्थ्यकर्मीहरूले प्राथमिक उपचारका क्रममा चक्कुले प्रहार गरिएका घाउ र शरीरभरि देखिएका चोटहरूलाई प्राथमिकता दिएका छन्।
दिनदहाडै यस्ता घटना हुन थालेपछि स्थानीय बासिन्दामा बेचैनी छन।
अहिलेसम्म गाउँको पहिचान शान्त र सुरक्षित बस्तीको रुपमा भए पनि,यो घटनाले आम नागरिकबीच असुरक्षाको भावना गहिरिएको छ।
वृद्ध-वृद्धा,एकल महिलाहरू तथा घरमा मात्र हुने व्यक्तिहरू चिन्तित बनेका छन्।
जिल्ला प्रहरी कार्यालय प्युठानको स्रोत अनुसार,चक्कु प्रहार नभई सामान्य लछारपछार गरि एक जोडि माडबाडी लुटिएको छ।आक्रमणकारीको खोजी भइरहेको बताइएको छ।