सहकारी छानबिन प्रतिवेदनबाट प्रभावित हुँदै सूर्य थापाको पक्षमा खुले सहकारी विज्ञ टिकाराम पोख्रेल

सहकारी छानबिन प्रतिवेदनबाट प्रभावित हुँदै सूर्य थापाको पक्षमा खुले सहकारी विज्ञ टिकाराम पोख्रेल

प्यूठान,सहकारी क्षेत्रसम्बन्धी संसदीय विशेष छानबिन प्रतिवेदनबाट प्रभावित भएको उल्लेख गर्दै सहकारी विज्ञ टिकाराम पोख्रेल खुलेर एमाले नेता सूर्य थापाको पक्षमा उभिएका छन्। सोमबार प्यूठान नगरपालिका–८ को मुख्य बजारकेन्द्र बाग्दुलामा आयोजित घरदैलो अभियानमा सहभागी हुँदै उनले थापाको नेतृत्वप्रति समर्थन जनाएका हुन्।
पोख्रेल लामो समयदेखि सहकारी,पत्रकारिता र विद्यार्थी राजनीतिमा सक्रिय व्यक्तित्वका रूपमा परिचित छन्। उनले समस्याग्रस्त सहकारीहरूको अध्ययन गर्न गठित संसदीय विशेष छानबिन समितिको संयोजकका रूपमा थापाले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै प्रतिवेदनलाई“तथ्यमा आधारित र मार्गदर्शक दस्तावेज” को संज्ञा दिए।
उनका अनुसार उक्त प्रतिवेदनले देशभर फैलिएको सहकारी बेथिति,अपारदर्शिता र ठगी प्रकरणलाई स्पष्ट रूपमा उजागर गरेको छ। “सहकारी ठगीका कारण हजारौं बचतकर्ता पीडित भएका थिए। त्यस्तो अवस्थामा संसद्ले गठन गरेको समितिले वस्तुगत अध्ययन गरी ठोस सुझाव दिएको थियो,” पोख्रेलले भने,“त्यो प्रतिवेदन कार्यान्वयनतर्फ उन्मुख भए सहकारी क्षेत्र पुनः विश्वासिलो बन्न सक्छ।”
पोख्रेलले सहकारी आन्दोलनलाई उत्पादन,रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोड्नुपर्ने आवश्यकता औंल्याए। सहकारी संस्थाहरूलाई नियमन,पारदर्शिता र उत्तरदायित्वको दायरामा ल्याउँदै बचतकर्ताको रकम सुरक्षित गर्ने दायित्व राज्यको भएको उनको भनाइ थियो।
उनले थपे,“सहकारी क्षेत्रलाई राजनीतिमुक्त,पारदर्शी र उत्तरदायी बनाउन कानुनी तथा नीतिगत सुधार आवश्यक छ। त्यसका लागि संसद्मा बलियो आवाज हुनुपर्छ। सूर्य थापाले त्यो भूमिका निर्वाह गर्नुभएको छ।”
२०७९ सालमा पहिलोपटक प्यूठानबाट संघीय सांसदमा निर्वाचित भएका थापाले प्रतिनिधिसभाबाट बहुमतका साथ सहकारी छानबिन समितिको संयोजकको जिम्मेवारी पाएका थिए। पोख्रेलका अनुसार उक्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्दै थापाले सहकारी सुधारमा महत्वपूर्ण आधार तयार गरेका छन्।
“देशमा मात्र होइन,विदेशमा समेत उक्त प्रतिवेदनको चर्चा भयो। सहकारी क्षेत्रका बेथितीलाई छर्लङ्ग पार्ने काम सजिलो थिएन,” पोख्रेलले भने,“काम गर्ने नेतृत्वलाई साथ दिनु आवश्यक छ भन्ने मेरो निष्कर्ष हो।”
पोख्रेलजस्ता सहकारी क्षेत्रका जानकार र सामाजिक अभियन्ताको समर्थनले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया थापाले दिएका छन्। उनले सहकारी सुधारसँगै प्यूठानको समग्र विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।
थापाले सडक पूर्वाधार विस्तार, कृषि आधुनिकीकरण, साना उद्योग प्रवर्द्धन, युवा रोजगारी सिर्जना तथा शिक्षा–स्वास्थ्य क्षेत्रमा सुधारलाई आफ्नो प्रमुख एजेण्डा रहेको उल्लेख गरे। सहकारी क्षेत्रलाई उत्पादनमुखी र आत्मनिर्भर अर्थतन्त्रको आधार बनाउने योजना पनि उनले अघि सारे।
बाग्दुला बजारमा भएको घरदैलो अभियानमा स्थानीय व्यवसायी, युवा,महिलाहरूको सहभागिता रहेको थियो। सहभागीहरूसँग अन्तरक्रिया गर्दै थापाले सहकारी क्षेत्रप्रतिको जनविश्वास पुनर्स्थापित गर्न प्रतिबद्ध रहेको बताएका थिए।
पोख्रेल प्यूठान नगरपालिका–७,टिकुरी निवासी हुन्। उनी नेपाल पत्रकार महासंघ प्यूठानका पूर्व उपाध्यक्ष, प्रेस सेन्टर नेपाल प्यूठानका पूर्व अध्यक्ष तथा लुम्बिनी प्रदेश कमिटीका पूर्व सचिव समेत रहिसकेका छन्। पूर्व विद्यार्थी नेताको रूपमा समेत चिनिएका पोख्रेल २०५७ सालमा अनेरास्ववियुको तर्फबाट स्वर्गद्वारी बहुमुखी क्याम्पस प्यूठानको सभापतिमा निर्वाचित भएका थिए।
उनको समर्थनलाई प्यूठानमा सहकारी तथा बौद्धिक समुदायबाट आएको महत्वपूर्ण सन्देशका रूपमा विश्लेषण गरिएको छ।