नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी सहितको टोली एमाले प्रवेश

नेकपाका केन्द्रीय सदस्य विनोद पहाडी सहितको टोली एमाले प्रवेश

प्युठान,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडीले औपचारिक रूपमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेसँगै स्थानीय राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।
एमाले उपाध्यक्ष विष्णु पौडेल ले पहाडीलाई स्वागत गर्दै वैचारिक स्पष्टता र संगठन अनुभव भएका नेताहरूको आगमनले पार्टीलाई थप उर्जा मिल्ने बताए। पार्टी सचिव छविलाल विश्वकर्माले दलित समुदाय,पत्रकारिता क्षेत्र तथा सामाजिक अभियन्तासँग पहाडीको सम्बन्ध सुदृढ रहेको उल्लेख गर्दै एमालेको सामाजिक आधार विस्तारमा टेवा पुग्ने धारणा राखे। नेता लिला गिरीले राष्ट्रियता,स्थिरता र विकासको एजेन्डामा एमाले दृढ रहेको बताउँदै नयाँ साथीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
एमाले प्रवेशपछि सम्बोधन गर्दै पहाडीले मुलुकको राजनीतिक अस्थिरता अन्त्य गर्न स्पष्ट दृष्टिकोण र मजबुत संगठन आवश्यक रहेको बताए। उनले राष्ट्रिय स्वाभिमान,संविधानको रक्षा र सामाजिक न्यायका मुद्दामा एमालेले निरन्तर अडान लिएको दाबी गरे।“म कुनै व्यक्तिगत लाभका लागि आएको होइन,”उनले भने,“देश र जनताको हितका लागि विचार मिल्ने शक्तिसँग सहकार्य गर्न आएको हुँ।”
उनका अनुसार एमालेमाथि भइरहेको आलोचना र राजनीतिक घेराबन्दी लोकतान्त्रिक प्रतिस्पर्धाको स्वाभाविक प्रक्रिया भए पनि त्यसलाई जनताले सही ढंगले मूल्यांकन गर्ने विश्वास व्यक्त गरे।
पहाडीसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम र नगर सदस्य जनक गौतमसहित अन्य केही स्थानीय नेता–कार्यकर्ताले पनि एमालेमा प्रवेश गरेका छन्। कार्यक्रममा ठूलो संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।