“अशुभ”भनिएका हातहरू अब संस्कृतिको रक्षा गर्दै- महिला बाजा समूहको कथा

“अशुभ”भनिएका हातहरू अब संस्कृतिको रक्षा गर्दै- महिला बाजा समूहको कथा

राम बहादुर बिश्वकर्मा
प्युठान,“पहिले हामी हेर्ने मात्र,अहिले हामी नै बजाउने भएका छौं,”मुस्कुराउँदै भन्छिन् प्यूठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना बेवरेकी बालिका सुनार।उनको हातमा बाजा,काँधमा ढोल र अनुहारमा गर्व झल्किएको।“बाजा बजाएर संस्कृती जोगाउन लागेका हौं,”उनले थपिन्-यो वाक्य अहिले गाउँभरि महिलाको अभियानजस्तै सुनिन्छ।


पहिलेका दिनमा गाउँमा महिलालाई बाजा छुन समेत अनुमति थिएन।पुरुषहरूले बजाउने बाजामा महिलाले हात लगाउँदा‘अशुभ हुन्छ’ भन्ने पुरानो सोच चल्दै आएको थियो। तर अहिले त्यो सोच ढल्दैछ। महिलाहरूले आफ्नै समूह बनाएर बाजा बजाउने,नाच्ने र संस्कृति जोगाउने काम थालेका छन्। गाउँका वृद्धबृद्धा पनि उनीहरूको हौसला बढाइरहेका छन्।
बालिका सुनार मात्र होइनन्,गाउँकी शान्ता नेपाली,रेखा सुनार,रेश्मा सुनार र शुन्तली नेपाली  पनि यही अभियानमा जुटेका छन्। 

पन्चेबाजा बजाउन यसरी सक्रिय छन,प्युठान नगरपालिका वडा नम्बर ९ मरन्ठाना बेवरेका महिलाहरू 


पहिले बाजा बजाउने महिलालाई गाउँमा ‘असामान्य’ दृष्टिले हेर्नेहरू थिए। तर अहिले त्यो धारणा परिवर्तन हुँदैछ। बाजा बजाउने महिलालाई गाउँका युवाले आदर गर्न थालेका छन्। विद्यालय र स्थानीय संस्थाहरूले पनि यस्ता समूहलाई कार्यक्रमका लागि निम्त्याउन थालेका छन्। यसले सांस्कृतिक सशक्तिकरणसँगै लैङ्गिक समानताको सन्देश पनि फैलाइरहेको छ।
गाउँका हरेक चाडपर्व,बिबाह ,देउसी–भैलो,माघे संक्रान्ति वा विवाह समारोहमा यो समूहको उपस्थिति अब अनिवार्यजस्तै भएको छ। उनीहरू जहाँ पुग्छन्,त्यहाँ गाउँको वातावरण नै बदलिन्छ। बाजाको तालमा गाउँका मानिस नाच्न थाल्छन् र परम्पराको रङ्ग फेरि जीवित हुन्छ।


आजकाल आधुनिक संगीत,मोबाइल र इन्टरनेटको दुनियाँमा पुराना ताल र लोक धुनहरू हराउँदै गएका छन्। तर यी ग्रामीण महिलाहरूले त्यस विरासतलाई जोगाइरहेका छन्। उनीहरूका लागि बाजा केवल ध्वनि होइन-त्यो त आफ्नो पहिचान,पुर्खाको सम्झना र आत्माको स्वर हो।गाउँमा जब उनीहरूको बाजा गुन्जिन्छ,बालबालिकाले पनि चासोका साथ हेर्छन्। साना केटीहरू उनीहरूबाट सिक्न चाहन्छन्। यसरी बाजाको तालले नयाँ पुस्तामा गर्व र संस्कृतिप्रतिको प्रेम जगाइरहेको छ।बाजाको तालमा अहिले केवल संगीत मात्र छैन,त्यहाँ महिलाको संघर्ष,सीप,सम्मान र पहिचान मिसिएको छ।


संस्कृतिको संरक्षण पुस्ता–पुस्ताबाट निरन्तरता पाए मात्र सम्भव हुन्छ। आधुनिकताको दौडमा पुराना रीती रिवाज,नाच–गान र बाजा हराउँदै गएका बेला यी ग्रामीण महिलाहरूको प्रयास साँच्चै प्रेरणादायी छ। उनीहरूले देखाएका छन् कि परिवर्तनका लागि ठूलो अवसर होइन, सानो हिम्मत र सामूहिक भावना नै काफी हुन्छ।


बाजाको तालमा त अब केवल संगीत मात्र छैन-त्यहाँ महिलाको संघर्ष,आत्मसम्मान र संस्कृतिप्रतिको माया मिसिएको छ।गाउँको हावामा गुन्जिने त्यो तालले एउटा सन्देश दिइरहेको छ।परम्परा जोगाउन, संस्कृतिलाई जिवन्त राख्न र आर्थिक आत्मनिर्भरता बनाउन यी महिलाहरूले सुरु गरेको अभियान साँच्चै प्रेरणादायी बनेको छ।


गाउँमा महिलाहरूको यो परिवर्तन केवल इच्छाशक्ति मात्र होइन,स्थानीय सरकारको सहयोगको परिणाम पनि हो। प्युठान नगरपालिका वडा नम्बर ९ वडा कार्यालयले आयोजना गरेको “महिला सीप विकास तथा बाजा ताल प्रशिक्षण कार्यक्रम” मार्फत यि महिलाहरूले पहिलोपटक बाजा बजाउन सिक्ने अवसर पाएका थिए।
समुहकी एक सदस्य शान्ता नेपाली भन्छिन्-“वडाले प्रशिक्षण नदिएको भए सायद हामी कहिल्यै बाजा बजाउने हिम्मत गर्न सक्दैनथ्यौं।अहिले हामीलाई ताल,लय र बाजा सबै थाहा छ।”त्यो सीपले अहिले उनीहरूलाई आत्मनिर्भर मात्र होइन,सांस्कृतिक सस्कृती जोगाउन समेत अभिप्रेरित गरेको छ।