राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्लाको ऐतिहासिक तथा सांस्कृतिक प्रतीकका रूपमा परिचित डल्ले मेला यस वर्ष पनि उत्साह,उल्लास र जनसहभागितासँग सम्पन्न भएको छ।
मेलामा प्रस्तुत सराय नाचहरूको प्रतिस्पर्धामा प्युठान नगरपालिका–३ सापडाडा सराय नाचले सबैलाई पछाडि पार्दै पहिलो स्थान हासिल गरेको छ।
त्यसैगरी,प्युठान नगरपालिका–७ पुण्यखोला सराय नाच दोस्रो र प्युठान नगरपालिका–४ थापडाडा सराय नाच तेस्रो स्थानमा रहेका छन्।
मेलाको मुख्य आकर्षणका रूपमा रहेको सराय नाच प्रतियोगितामा जिल्लाका विभिन्न टोल तथा समुदायका समूहहरूले सहभागिता जनाएका थिए।
सांस्कृतिक मौलिकता,लय,ताल र अनुशासनको उत्कृष्ट संयोजनका कारण सापडाडा सराय नाचले निर्णायकको मन जित्न सफल भएको हो।
सापडाडा सराय नाचका अगुवा सदस्यहरूका अनुसार,यो उपलब्धि केवल जित होइन-आफ्नो संस्कृतिप्रतिको समर्पणको प्रतिफल हो।
स्थानीय युवाहरूको सक्रियता,महिलाहरूको सहभागिता र बृद्धहरूको मार्गदर्शनले यो परम्परा आजसम्म जीवित राखिएको छ।
सापडाडा सराय समूहले पछिल्ला चार वर्षमा दुई पटक पहिलो, एक पटक दोस्रो स्थान प्राप्त गर्दै निरन्तर उत्कृष्टता प्रदर्शन गर्दै आएको छ।
यो निरन्तरता स्थानीय समुदायको एकता र सांस्कृतिक प्रतिबद्धताको प्रतिक बनेको छ।
डल्ले मेला केवल सराय नाचको मंच होइन-यो सम्पूर्ण समुदायको उत्सव हो।
स्थानीय उत्पादकहरूका परिकार,हस्तकला,सोर ठि,मारुनी र नृत्यसँगै मेलाले हर्षोल्लासको वातावरण सिर्जना गर्छ।
दूरदराजका गाउँबाट आएका मानिसहरू मेलामा भेटघाट,व्यापार र मनोरञ्जनका माध्यमले एकअर्कासँग सम्बन्ध गाढा पार्छन्।
यस वर्ष पनि मेलामा हजारौं दर्शकको उपस्थितिले वातावरण झन् रमाइलो बनाएको थियो।
बाजाको ताल, ढोलकको धुन र झ्यालिको झंकारले डल्ले मैदान घन्काएको थियो।
प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु बहादुर योगिले सांस्कृतिक पर्यटनलाई अघि बढाउन यस्ता मौलिक कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो।
उहाँका अनुसार यस्ता सराय नाच प्रतियोगिता र मेला-उत्सवले केवल परम्परा जोगाउँदैन,स्थानीय पर्यटन प्रवर्द्धन र आर्थिक सक्रियता पनि बढाउँछ।
त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठले हरेक वर्ष डल्ले मेला मार्फत नयाँ पुस्तालाई हाम्रो संस्कृतिप्रति सम्मान र माया जगाउदै आएको बताउनुभयो।
आफु निर्वाचित भए संगै अहिले सम्म ४ वर्ष सहभागी भएको सापडाडा सराय २ वर्ष पहिलो र १ वर्ष दोस्रो भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो।
उहाँका अनुसार “परम्परा देखि चल्दै आएको डल्ले मेला केवल सांस्कृतिक पर्व मात्र होइन,यो दर्शकलाई मनोरञ्जन दिने,समुदायलाई एकत्रित गर्ने अवसर पनि हो।हरेक वर्ष यस मेला मार्फत नयाँ पुस्तालाई हाम्रो संस्कृतिप्रति सम्मान र माया जगाइन्छ।
प्रतिक्रिया राख्नुहोस्