प्युठान नगरपालिकाको शिक्षा शाखामा तालाबन्दी 

राम बहादुर बिश्वकर्मा

प्युठान,प्युठान नगरपालिकाको नगर शिक्षा शाखामा ताला लगाइएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु ले नगर शिक्षा शाखामा तालाबन्दी गरेको हो । 
आफ्ना मागहरु पुरा गर्न तर्फ प्युठान नगर शिक्षाले कुनै पनि चासो नदिएका कारण एक बिज्ञप्ति जारी गर्दै नगर शिक्षा शाखामा तालाबन्दी गर्नुपरेको अनेरास्ववियु प्युठानका अध्यक्ष जाल बहादुर के सि जानकारी दिए । उनका अनुसार मुक्ति माध्यमिक विद्यालय रातामाटामा कार्यरत शिक्षक विष्णु पोखेललाई प्यूठान नगरपालिकाले विद्यालयको नियमित अध्यापन कार्यमा खटाउनुको साटो कार्यालयको आन्तरिक कामकाजमा खटाएको र हाल शिक्षा शाखा प्रमुखको जिम्मेवार समेत दिएको सन्दर्भमा निज शिक्षकलाई शिक्षण पेशामै नियमित खटाउनुपर्ने भन्दै अनेरास्ववियुले यहि माघ १८ गतेका दिन पत्रकार सम्मेलन मार्फत नगरपालिकालाई आग्रह गरेको थियो ।
परिवर्तित राज्य व्यवस्था अनुसार स्थानीय सरकार संचालनमा सम्बन्धीत सेवा क्षेत्र अनुसारका कर्मचारीहरुवाट नै कामकाज हुने कानुनी व्यवस्था छ ।त्यसैले शिक्षक नियुक्ति भएका शिक्षकले विद्यालयमै पठनपाठनमा संलग्न हुनुपर्ने कानुनी व्यवस्थालाई राजनीतिक दलको आडमा गैरजिम्मेवार बजिम्मेवारी प्रदान गर्नु कानुनको उपहास भएको भन्दै शिक्षा शाखामा तालाबन्दी गर्नु परेको अध्यक्ष केसीले बताए।उनले सम्बन्धित निकायले आफ्ना मागहरुको तत्काल सम्बोधन नगरे चरणबद्ध आन्दोलन गरिने र नगर शिक्षा शाखामा लगाइएको ताला कसैले तोड्न कोषिस गरेमा त्यसको जिम्मेवार सम्बन्धीत प्रशासन नै रहने बताए ।