सिल गरिएको अस्पतालबाट पिसिआर बिनै घर

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ मणिग्रामस्थित क्रिमशन अस्पताल शिल गरेसँगै मंगलवार २९ जनाको पिसिआर परिक्षणका लागि स्वाब सकंलन गरिएको छ । तर अस्पतालभित्र रहेका ५१ जनालाई भने संक्रमित व्यक्तिको सम्पर्कमा नरहेको भन्दै होम क्वारेन्टाइनमा पठाइएको छ ।

कोभिड १९ को संक्रमण नियन्त्रण गर्न परिक्षणको दायरा बढाउनुपर्ने सुझाव सवत्र आइरहदा यसरी छाडिनुलाई लापरवाहीको रुपमा हेरिएको छ ।

शिल गरेको अवस्थासम्म ति ५१ जना व्यक्तिहरु पनि अस्पताल परिषर भित्रै रहेका थिए । यसरी पिसिआर बीना नै घर पठाउदा कोरोना संक्रमणको खतरा निम्ताउन सक्ने कतिपय चिकित्सकहरु नै बताउँछन् । शिल गरिएको अवस्थामा अस्पतालमा रहेका सबै व्यक्तिको स्वाबको परिक्षण नगरी छाड्नु गलत भएको उनिहरुको भनाई छ ।

अस्पतालमा उपचाररत गुल्मीको मदाने गाउँपालिका ६ का ४१ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार बेलुका अस्पताल पूर्णरुपमा शिल गरिएको थियो । शिल गरिएको अस्पतालबाट कोरोना संक्रमित व्यक्तिको उपचारमा नजिकबाट काम गरेका चिकित्सक, अस्पतालका कर्मचारी र बिरामीका सहयोगीको स्वाब सकंलन गरिएको दाबी छ ।


कोरोना संक्रमण देखिएका व्यक्तिको उपचार गरिएको अस्पतालको आकस्मिक, आईसियू र वार्डमा कार्यरत २६ जना र बिरामीका सहयोगी ३ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले बताए ।

तर क्रिमशन अस्पताल भित्र सोमबारदेखि रहेका औषधि क्रेता, केही बिरामीका आफन्त लगायत ५१ जनालाई प्रहरीको सहायतामा नगरपालिकाका स्वास्थ्यकर्मीहरुले उनीहरुको व्यक्तिगत विवरण लिएर छाडिएको छ । उनीहरुलाई होम क्वारेन्टाइनमा बस्ने गरी अस्पतालबाट पठाइएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

त्यसरी ५१ जनालाई छाड्नुको कारण प्रदेशमा आवश्यक पिसिआरका लागि किट नभएर त होइन भन्ने आशंका जन्माएको छ ।

उनीहरु होम क्वारेन्टाइनमा नबसे संक्रमणको जोेखिम पनि त्यत्तिकै रहेको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला प्रमुख समेत रहेका गिरीले मापदण्डभित्र पर्नेहरुको स्वाब संकलन गरिएको भन्दै आवश्यक नपर्नेहरुलाई मात्र होम क्वारेन्टाइनमा पठाइएको बताए ।

सोमबार कोरोना संक्रमित देखिएकका गुल्मी मदाने ६ का शिक्षकको भैरहवा स्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पिसिआर परीक्षण गरिएको थियो । उनी यही जेठ १ गते जण्डिस रोगको उपचारका लागि गुल्मीबाट बुटवल आएका थिए । उनको क्रिमशन अस्पताल मणिग्राममा भेण्टिलेटरमा राखेर उपचार भैरहेको छ । अस्पताल शिल गरिएपछि कसैलाई पनि अस्पताल बाहिर भित्र गर्न दिइएको छैन ।