स्थानीय तहमा उद्यम बिकास सहजकर्ताको दरबन्दी कायम गर्न माग

स्थानीय तहमा उद्यम बिकास सहजकर्ताको दरबन्दी कायम गर्न माग


सीता बि.क
राष्ट्रिय उद्यम विकास सहजकर्ता महासंघले लोक सेवा मार्फत प्रत्येक स्थानीय तहमा उद्यम विकास सहजकर्ता (ईडीएफ)को दरबन्दी सिर्जना गर्न माग गरेको छ ।संघीय सरकारलाई मागपत्र पेश गर्दै महासंघले स्थानीय निकायमा उद्यम विकास सहजकर्ताको दरवन्दी सिर्जना गर्न माग गरेको हो । मागपत्र संघीय सरकारलाई बुझाएको भन्दै महासंघकी अध्यक्ष देवकी घिमिरेले सातवटै प्रदेश सरकालाई बुझाइने जानकारी दिइन् ।

 

महासंघले स्थानीय स्तरमा प्रत्येक गाउँपालिका, नगरपालिका लगायत वडा कार्यालयहरुमा समेत आवश्यकता हेरी उद्यम विकास सहजकर्ताहरुलाई लोकसेवा मार्फत दरबन्दी कायम गर्न माग गरेको छ ।
हाल घरेलु कार्यालयमा करारमा कर्मचारी राखिए पनि घरेलु तथा स्थानीय निकायमा समेत लोकसेवा मार्फत दरवन्दी सिर्जना गर्न माग गरेको महासंघकी अध्यक्ष घिमिरेले बताइन् ।
उद्यम विकास सहजकर्ताको पदपूर्तिमा उद्यम विकास सहजकर्ता वा अथवा अन्य, तथापि जस्ता द्वैध अर्थ लाग्ने शब्द प्रयोग नगर्न समेत माग गरेको छ ।उद्यम विकास सहजकर्ता भन्ने तर आफ्ना मान्छे भर्ती गर्ने परिपाटी भएकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् राष्ट्रिय सिप परीक्षण समिति मार्फत सिप परीक्षण तह २ र ३ पास गरेकालाई मात्र प्राथमिकतामा राख्नुपर्ने माग गरेको छ ।


यस्तै स्थानीय स्रोतसाधनको परिचालन गरी लघु तथा घरेलु उद्योग स्थापना गराउन उद्यम विकास सहजकर्ताको महत्वपूर्ण भूमिका भएकाले अनिवार्य रूपमा स्थानीय स्तरमा दरवन्दी सिर्जना गर्न, नेपाल सरकार उद्योग मन्त्रालय मार्फत सञ्चालित गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) लाई टेण्डर प्रक्रिया बन्द गरी स्थानीय निकायमार्फत सञ्चालन गनुपर्ने, कृषि तथा वनसँग सम्बन्धित उद्यम विकासमा सैद्धान्तिक तालिमभन्दा फिल्डमा गएर तालिम दिने व्यवस्था गर्नुपर्ने, सबै किसिमका उद्याशीलताका कार्यक्रममा उद्यम बिकास सहजकर्तालाई अनिवार्य प्रयोग गर्ने नीतिमा व्यवस्था गर्नुपर्ने, कागजमा मात्रै उद्यमी सिर्जना हुने परिपाटी बन्द गर्नुपर्ने माग गरिएको छ ।