सिता बि.क
प्यूठान,स्थानीय उत्पादन,पर्यटन प्रवर्द्धन र सामाजिक विकासलाई केन्द्रमा राख्दै स्वर्गद्वारी नगरपालिकामा प्रथम स्वर्गद्वारी भिगृ प्यूठान महोत्सव २०८२ आयोजना हुने भएको छ।महोत्सवको तयारीस्वरूप बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आयोजकले महोत्सव केवल मनोरञ्जनमा सीमित नरही जिल्लाको दीर्घकालीन विकासको आधार बन्ने विश्वास व्यक्त गरिएको छ।
प्यूठान उद्योग वाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्रका अध्यक्ष विष्णु योगीका अनुसार महोत्सवमार्फत स्थानीय किसानका उत्पादन,धार्मिक तथा पर्यटकीय स्थलको पहिचान र बजार विस्तारमा जोड दिइनेछ। साथै महोत्सवबाट संकलित आम्दानी सामाजिक पूर्वाधार विकासमा लगानी गरिने र धर्मशालाको भौतिक संरचना विस्तार गरिने योजना रहेको जानकारी दिइयो।
कार्यक्रमका प्रमुख अतिथि तथा प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष सन्देश आचार्यले महोत्सवले स्थानीय व्यवसायी र उद्यमीलाई प्रत्यक्ष लाभ पुग्ने बताउँदै यसले जिल्लाको आर्थिक चलायमानता बढाउने धारणा राख्नुभयो। उहाँले यस्ता कार्यक्रमले प्यूठानलाई बाह्य पर्यटकमाझ चिनाउन सहयोग पुग्ने उल्लेख गर्नुभयो।
त्यसैगरी नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले महोत्सवबाट उठ्ने रकमको पारदर्शी प्रयोग र आम्दानी–खर्चको सार्वजनिक विवरणले आयोजकप्रति जनविश्वास बढ्ने बताउनुभयो।महोत्सवको प्रचारप्रसारमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने उहाँको भनाई थियो।
पौष १८ देखि २९ गतेसम्म बसपार्क नजिक सञ्चालन हुने महोत्सवमा ज्योती मगर,दुर्गेश थापा,बद्री पंगेनी र पिएन सापकोटालगायत कलाकारको प्रस्तुति रहनेछ। महोत्सवको आयोजनामा प्यूठान उद्योग वाणिज्य संघ स्वर्गद्वारी नगर बजार क्षेत्र,समन्वयमा प्यूठान उद्योग वाणिज्य संघ र संरक्षकमा स्वर्गद्वारी नगरपालिका तथा नेपाल पत्रकार महासंघ प्यूठान रहेका छन्।
प्रतिक्रिया राख्नुहोस्