सिता बि.क
प्यूठान,जिल्लाका पत्रकारहरूका लागि स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध हुने भएको छ।
निमतारा पोलिक्लिनिकका चर्चित स्वास्थ्य व्यवसायी डा. सुवास जि.सि ले पत्रकार महासंघ प्यूठान शाखाको २४औं स्थापना दिवसको अवसरमा जिल्लाका क्रियाशील पत्रकारलाई स्वास्थ्य परीक्षणमा विशेष छुट सुविधा प्रदान गरिने घोषणा गर्नुभएको हो।
उहाँ हुनुहुन्छ स्वास्थ्य र समाजसेवामा चर्चा कमाउनुभएका डा: सुवास जि.सि
पोलिक्लिनिकका संचालक डा.जिसिले बताएअनुसार,यो सेवा सामाजिक उत्तरदायित्व अन्तर्गत पत्रकारहरूको स्वास्थ्य परीक्षणलाई प्रोत्साहित गर्नका लागि उपलब्ध गराइएको हो।
हामी हाम्रो पेशा र समाजको सेवा सँगसँगै अघि बढाउनेमा विश्वास गर्छौं।उहाँले भन्नुभयो,"पत्रकारहरू समाजको आँखाका रूपमा काम गर्नुहुन्छ। पत्रकारहरूको व्यस्त र तनावपूर्ण जीवनशैलीले स्वास्थ्यमा असर पार्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक छ।उहाँहरूको स्वास्थ्य सुरक्षामा योगदान पुर्याउनु हाम्रो दायित्व हो।यस पहलले पत्रकारहरूको स्वास्थ्यमा ध्यान पुर्याउन मद्दत गर्ने र समाजमा स्वास्थ्य चेतना फैलाउने विश्वास छ।”
उक्त सुविधाको लागि महासंघका अध्यक्ष श्रीराम भण्डारी र पोलिक्लिनिक संचालक डा: जि.सि बिच आजै सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ। दुबै पक्षको समझदारी अनुसार ओपिडी सेवामा १० प्रतिशत,रगत परीक्षण र अन्य ल्याब सेवामा २० प्रतिशत छुट उपलब्ध गराइनेछ।
यसैबीच पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले यस पहलको स्वागत गर्दै,“डा. सुवासको यो पहल साँच्चै प्रेरणादायी छ। यसले पत्रकारहरूको स्वास्थ्यमा सकारात्मक असर पार्नेछ। हामी सबैले यस अवसरलाई सदुपयोग गर्नुपर्छ।”
उहाँका अनुसार “जिल्लाका क्रियाशील पत्रकार र महासंघका सदस्यका लागि स्वास्थ्य सेवा पहुँचयोग्य बनाउने हाम्रो उद्देश्य हो। यस पहलले पत्रकारहरूको स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउनेछ।
साथै जिल्लाको पत्रकार समुदायले डा. सुवासको यो पहललाई अत्यन्त सर्हानिय भन्दै स्वावास्थ्यजस्ता संवेदनशील क्षेत्रमा यस्तो सहयोगले पत्रकारहरूको कार्यक्षमता र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्