सीता बि.क
प्युठान,नेपाल पत्रकार महासंघ प्यूठान शाखाले पत्रकार हत्या,सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा सरकारलाई ज्ञापनपत्र पठाएको छ।
गएको शुक्रवार काठमाडौंको तीनकुनेमा राजावादी समर्थकहरुकाे आन्दोलनका क्रममा एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकको हत्या विरोधसहित संञ्चारगृह माथि भएको आक्रक्रमण विरुद्ध विभिन्न माग राख्दै प्रमुख जिल्ला अधिकारी मार्फत महासंघले मंगलबार ज्ञापनपत्र पठाएको हो ।
ज्ञापनपत्रमा पत्रकार रजकका हत्यारालाई तत्काल कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्ने,सञ्चार माध्यममा भएको तोड्फोडको क्षतिपूर्ति उपलव्ध गराउनुपर्ने, त्यस समयमा सूचना संकलनका क्रममा अन्य पत्रकारहरु पनि घाइते भएको भन्दै उनीहरुको उपचार व्यवस्था गरिनुपर्ने लगायतका माग गरिएको छ। पत्रकारहरुको हत्या हुनु,पत्रकारमाथि र सञ्चारमाध्यमहरुमाथि आक्रमण हुने निन्दनीय कार्य भएको भन्दै प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न महासङ्घले सरकारसँग माग गरेको छ । आफ्ना मागहरु एक साताभित्र सम्बोधन नभए सरकारविरुद्ध चरणवद्ध आन्दोलन गर्न वाध्य हुने विज्ञप्तिमा भनिएको छ।

हिंसात्मक घट्नाका क्रममा कीर्तिपुर निवासी एक युवक र एभिन्युज खबर टेलिभिजनका पत्रकार सुरेश रजकको ज्यान गएको थियो। साथै केही निजी निवासमा आगजनी र तोडफोड तथा लुटपाट भएको थियो।
“प्रदर्शनकारीहरूले कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोस्टको कार्यालयमा पनि तोडफोड गरेका थिए, त्यसबाहेक राजनीतिक पार्टीको कार्यालयमा आगजनीका साथै भाटभटेनी सुपरमार्केटमा तोडफोड र लुटपाट मच्चाइएको छ। शान्तिपूर्ण आन्दोलनका नाममा निम्त्याइएको हिंसा र अराजकतालाई किमार्थ स्वीकार गर्न सकिन्न,' पत्रकार महासंघ प्युठान शाखाले जनाएको छ।
लोकतन्त्रमा आफ्ना असहमति शान्तिपूर्ण रूपले राख्न पाइने व्यवस्था हुँदाहुँदै राजनीतिक अभिष्ट पूरा गर्ने नाममा हिंसा निम्त्याउने,नागरिकको ज्यान जाने अवस्था ल्याउने,निजी सम्पत्ति र व्यापारिक प्रतिष्ठानमा आगजनी र लुटपाटलगायतका गतिविधि किमार्थ स्वीकार्य नभएको शाखाका अध्यक्ष श्रीराम भण्डारीको भनाई छ।
नेपाल पत्रकार मसहासंघ प्युठानका अध्यक्ष श्रीराम भण्डारी,सचिव बासुदेव गिरी सहितको पत्रकारहरुको टोलीले ज्ञापनपत्र प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीलाई बुझाएको थियो । ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी आचार्यले सम्बन्धित निकायमा पठाउने प्रतिवद्धता जनाउनुभयाे ।
प्रतिक्रिया राख्नुहोस्