प्लाष्टिकजन्य फूल र माला प्रयोग नगर्न सरुमारानी  गाउँपालिकाको आग्रह

प्लाष्टिकजन्य फूल र माला प्रयोग नगर्न सरुमारानी  गाउँपालिकाको आग्रह

सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिकाकाले दिपावली र छठ पर्वमा प्लाष्टिकजन्य फूल र माला प्रयोग नगर्न गाउँपालिका बासीसंग आग्रह गरेको छ।
प्लाष्टिकजन्य फूल र मालाको उत्पादन,बिक्री वितरण र प्रयोगमा जिल्लाका केही स्थानीय सरकारले प्रतिबन्ध लगाए संगै गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले बुधवार एक सूचनामार्फत यसको प्रयोग नगर्न सरुमारानी गाउँपालिकाबासी सर्वसाधारणसंग आग्रह गर्नुभएको हो।
बिश्वकर्माका अनुसार गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै मुख्य चाडहरू दीपावली लगायत विभिन्न महोत्सव तथा समारोहका साथै पाहुनाको स्वागत एवम् बिदाइ कार्यक्रममा पलाष्टिकजन्य फूल गुच्छा,माला लगायतका सामाग्रीहरूको प्रयोग, आयत, बिक्री वितरण र भण्डारण नगर्न नगराउन अनुरोध गरेको छ ।
बिश्वकर्माले हस्ताक्षर गरेर जारी गरिएको सूचनामा अगाडि भनिएको छ,– ‘प्लाष्टिकजन्य फूल तथा सरसजावटका सामाग्रीको प्रयोगले वातावरणीय प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा समेत प्रतिकुल असर पार्ने भएकोले सरुमारानी गाउँपालिकाको क्षेत्रमा स्थानीय स्तरमा उत्पादन भएका सयपत्री, मखमली लगायतका फूलहरुको प्रयोग गरी आउँदै गरेको चाड तिहार तथा छठलाई हर्षोल्लासका साथ मनाउन हुन आग्रह गरिन्छ ।’

 

सरुमारानी गाउँपालिका मार्फत प्रकाशन गरिएको सुचना


नेपाल र नेपाली जनताले मनाउँदै आइरहेको महान चाड शुभ दिपावली (तिहार) तथा छठ पर्वको यस पावन अवसरमा यस सरुमारानी बासी सम्पूर्ण बुबा आमा,दाजुभाई, दिदि बहिनी तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली जनमा सुख,शान्ति,समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं।२०८१ सलको तिहार तथा छठ पर्वले बहुजातीय हाम्रो नेपाली समाजमा आपसी मेलमिलाप,सामाजिक सदभाव, समानता,एकता र मित्रताको सम्बन्धलाई अझै कसिलो बनाउने छ भन्ने विश्वास व्यक्त गर्दछौं । चाड पर्व र रमाइलोको नाममा अति खर्चिलो, संस्कृति माथि आँच पुग्ने, जुवातास, झै-झगडा गर्ने जस्ता समाजलाई असर गर्ने खालको कुनै पनि गतिविधिहरु नगर्न र नगराउनुहुन पनि यस शुभकामनाको साथमा विनम्र अनुरोध गर्दछौं । साथै चार्डपर्वहरु,सार्वजिनक सभा,समारोह, मेला,महोत्सव तथा अन्य कार्यहरुमा प्लास्टिकजन्य फूलगुच्छा,माला लगायतका समाग्रीहरुको प्रयोग तथा बिक्री वितरणलाई पूर्ण रुपमा नियन्त्रण गरी स्थानीयस्तरमा उत्पादन फूल तथा कृषि उपजहरुको प्रयोग गर्नु/गराउनुहुन गाउँपालिका स्थित सार्वजनिक निकाय, राजनैतिक दल, उद्योग व्यवसायी,नागरिक समाज लगायत सम्पूर्ण सरुमारानी बासीहरुमा अनुरोध गर्न चाहान्छौ। सूचनामा भनिएको छ।उहाँले आउदै गरेको दिपावली र छठ पर्व हर्षोल्सासका साथ मनाउन पनि सरुमारानी बासीसंग आग्रह गर्नुभएको छ