राम बहादुर बिश्वकर्मा
प्यूठान,प्यूठानमा क्रियाशील सहकारी संस्थाहरुको छाता संघ जिल्ला सहकारी संघ लिं प्यूठानको कार्यसमितिले १ बर्ष पुरा गरेको छ।
संघको अध्यक्षमा सुशील पोख्रेल छन्।अध्यक्ष मात्र होइन लामो समय सम्म संघको विभिन्न जिम्मेवारी निर्वाह गरेको अनुभव पनि उनीसँग छ।
त्यसैले संघको हरेक गतिविधिमा जिल्लामा स्थापित सहकारी सस्थाहरुको अपेक्षा पनि बढी छ।सहकारीका आम सेयर सदस्यको अपेक्षाकाबीच पोख्रेलले ४ वर्षे कार्यकालको पहिलो एक वर्ष आज फागुन १३ गते पूरा गरिसकेका छन।
यो एक वर्षे कार्यकाल कस्तो रह्यो?संघले के कस्ता उपलब्धि हासिल गरेको छ र आगामी दिनका योजना के छन्?यिनै सन्दर्भमा रहेर आइतबार आयुष्मा होटेल जुम्रीमा प्रेस मिट मार्फत संघ को गतिबिधि सार्वजनिक गरिएको छ।
उक्त अबसरमा जिल्ला सहकारी संघ प्यूठानको पहिलो १ वर्ष उपलब्धिमूलक भएको जानकारी गराउदै पोख्रेलले सरकारको तीनखम्बे अर्थनीतिमध्ये तेस्रो खम्बा सहकारी नै भएको उल्लेख गरे।उनले भने,‘सहकारी क्षेत्र बृहत् र बहुआयामिक तथा गरीब र विपन्न वर्गका लागि आत्मनिर्भर बनाउने असल साथी भएकाले सहकारीको संस्थागत विकासमा सबैले योगदान दिनुपर्छ।’सरकारले नारामा सहकारीलाई उच्च स्थान दिए पनि स्पष्ट सहकारी नीति बनाउन नसकेकोमा असन्तुष्टि व्यक्त गर्दै सहकारीको नियमनको जिम्मेवारी स्थानीय सरकारलाई भएपनि जिल्लामा स्थापित सहकारी सस्थाको तथ्यांक सबै स्थानीय तहमा नै पुर्ण रुपमा नहुनु दु:खद भएको भन्दै छिटो भन्दा छिटो आधिकारिक रुपमा तथ्यांक अपडेट गराई सहकारीको ऐन तथा नियमावली परिवर्तन गरी सहकारी क्षेत्रलाई पूर्णरूपले उद्यमशील बनाउँदै लैजानुपर्ने अध्यक्ष पोख्रेलको धारणा छ।
त्यस्तै संचारकर्मीहरुलाई संस्थाले पछिल्लो चरणमा देखाएको सक्रियता सहित कार्यक्रमको बिषयबस्तुबारे जानकारी दिदै सहकारी संघ प्यूठानका उपाध्यक्ष खिम बहादुर जि सी ले सञ्चालकले बदमासी नगरे कुनै पनि सहकारी सङ्घ संस्था सङ्कटमा नपर्ने बताए।
नेपालमा सङ्कटग्रस्त देखिएका सहकारी संस्थाबाट पाठ सिकेर अन्य सहकारी संस्थाले आर्थिक गतिविधि सञ्चालन गर्नुपर्ने धारणा राख्दै उहाँले सञ्चालक इमानदार हुने हो भने कुनै पनि सहकारी संस्था सङ्कटमा नपर्ने उनको भनाई छ।
उक्त अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष संजय रिजाल सहित जिल्लामा कृयाशिल संचारकर्मीहरुको उपस्थिति रहेका थियो।
यस्तो छ,जिल्ला सहकारी संघ लिमिटेड प्युठानको एक बर्षे उपलब्धिमुलक गतिविधिको सार संक्षेप
प्रेस विज्ञप्ति
पत्रकार साथीहरु एवं सहकारीप्रेमी महानुभावहरु, आज फागुन १३ गतेका दिन हामीले जिल्ला सहकारी संघ लि.प्यूठानको नेतृत्व सम्हालेको ठिक एक वर्ष बितेको छ।हामी सबैलाई अवगत नै छकि सहकारी क्षेत्रको स्वतन्त्र विकास र परिचालन मार्फत समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने राज्यको संकल्प बमोजिम देशको आर्थिक विकासको प्रमुख स्तम्भको रुपमा सहकारी एक महत्वपूर्ण क्षेत्र हो। मुलुक संघीय संरचनामा प्रबेशसँगै बहुसंख्यक सहकारीहरु स्थानीय तह तथा केही प्रदेश तहको नियमन्मा रही जिल्लाको ग्रामीण क्षेत्रमा संचालित छन्। सहकारी संस्थाहरुको संचालन, व्यवस्थापनको ज्ञान सीपको अभावमा सुशासित र व्यवस्थित गर्नुपर्ने बर्तमान अवस्थामा जिल्लाका सहकारी संस्थाहरुको छाता संघ जिल्ला सहकारी संघ प्यूठानले सहकारी संस्थाहरुको वित्तिय पहुँच अभिवृद्धि,दिगो संस्थागत विकास,सञ्जालीकरण,क्षमता विकास,अवस्था पहिचान सूचना आदान प्रदान र उद्यमशीलताका विभिन्न तालिमहरु प्रारम्भिक तथा संघको संस्थागत विकासका लागि निरन्तर क्रियाशील रहेको सबैमा अवगत गराउन चाहन्छु।
जिल्लाका सहकारी संस्थाहरुको उन्नयनका लागि २०७० सालमा स्थापना भएको यस संघमा हाल १२५ को संख्यामा सहकारी संस्थाहरु आबद्ध रहेका छन्।तथापी जिल्लाका स्थानीय तहमा उल्लेखित विवरण अनुसार १८२ प्रारम्भिक तथा ३ विषयगत गरी १८५ सहकारी संस्था क्रियाशील रहेको अवस्था छ।यी सहकारी संस्थाको सुदृढीकरण गरी कार्यप्रणाली सुधारका लागि जिल्ला सहकारी संघले यो १ बर्षको अबधिमा अपेक्षित रुपमा नतिजा पस्कन नसकेपनि एउटा दिशाबोध गर्दै संस्थालाई क्रियाशील गर्न सफल रहेको छ।यस अनुसार वितेको यो एक बर्षको अबधिमा सहकारी संस्थालाई सवल र सक्षम गर्न सकेमात्र सहकारी अभियान सफल हुने वुझाईका साथ चरण चरणमा जिल्ला स्तरीय अन्र्तक्रियात्मक कार्यक्रम तथा स्थानीय पालिका स्तरमा केन्द्रित रही गतिविधि अगाडि बढाइदै लगिएको छ।प्रारम्भिक संस्थाहरुको क्षमता अभिवृद्धिका लागि जिल्ला तथा जिल्ला वाहिर विभिन्न निकायहरुद्धारा प्रदान गरिने क्षमता विकास तालिमहरुमा उल्लेख्य मात्रामा जिल्लाबाट सहकारीकर्मीहरुलाई सहभागि गराईएको छ भने यो एक वर्षमा संघकै आयोजनामा पनि स्थानीय तहहरुको सहयोगमा धेरै प्रकारका क्षमता विकास तालिमहरु सञ्चालन भएका छन् ।सञ्चारकर्मी साथीहरु, जिल्लाको सहकारी अभियानलाई नयाँ उचाईमा पुरयाउने संकल्पका साथ संघले आगामी बर्षका लागि राष्ट्रिय सहकारी महासंघ, नेफ्स्कुन जस्ता केन्द्रीय छाता संघहरुसंग समन्वय गरी संघको ३ वर्षे रणनीतिक व्यवसायिक योजना निर्माण गरी सो रणनीतिक योजना अगाडि बढ्ने साधारणसभाबाट निर्णय लिएका छौं। यस्तै संघको कार्यालयको लागि जग्गाको खोजी गर्ने र कार्यालय भवन निर्माण गर्ने योजना अनुसार जग्गा लिने प्रक्रियालाई अगाडि बढाइसकिएको छ। सहकारी संस्थाको पाश्र्वचित्र ( सहकारी क्षेत्र सुदृढीकरण तथा कार्यप्रणाली सुधार) कार्यक्रमको रुपमा स्थानीय तहसंग सहकार्य गरी कार्यक्रम संचालन गर्ने तथा पाश्वर्व चित्र निर्माण गर्ने, सहकारी शिक्षाका लागि रेडियो शिक्षा कार्यक्रम संचालन गर्नका लागि प्रारम्भिक सहकारी संस्थाहरु र संचारमाध्यमसंग समन्वय गरी अगाडि बढ्ने निर्णय पनि हामीले लिएका छौं। आउँदो चैत्र २० गतेका दिन सहकारी दिवसलाई लुम्विनी प्रदेश तहमा रहेका अगुवा सहकारीकर्मीलाई समेत सहभागी गराई भव्य रुपमा मनाउने, सहकारी संस्थामा चोरीका घटना देखा पर्दै गएकाले सहकारी संस्थामा सिसि टीभि जडानका लागि प्रारम्भिक सहकारी संस्थाहरुलाई सहजिकरण गर्ने, प्रारम्भिक सहकारी संस्थामा कार्यरत कर्मचारीहरुका लागि एकरुपता दिन सहकारी पोशाक (युनिफर्म ) व्यवस्थापन गर्न अनुरोध गर्ने साथै सहकारी एकीकरण प्रक्रियाका लागि समेत मर्जर गोष्ठी लगायत आवश्यक भूमिकाका लागि पहल लिने, सहकारीकर्मीहरुको क्षमता तथा दक्षता अभिवृद्धिका लागि आवश्यक तालिम संचालन गर्न विभिन्न निकायहरुसंग समन्वय तथा सहकार्य गरी कार्यक्रम संचालन गर्ने, सहकारी संघको कार्यालयलाई ब्यविस्थत बनाउने र सहकारी सूचना केन्द्रको रुपमा विकास गर्ने खाँचो अनुरुप हामी अगाडि बढेको समेत सम्पूर्णमा जानकारी गराउदछु ।
अहिले देशका सहर बजारका केही सहकारीहरुले नीति र विधि विपरित कार्य गर्दा ती सहकारीहरुमा समस्या सृजना भई समग्र सहकारी अभियानलाई नै बदनाम हुने गरी फैलाईएका कतिपय भ्रम तथा हल्लाप्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ। प्यूठान जिल्लाका सहकारी संस्थाहरुमा अहिले सम्म जनताको बचत रकम डुब्ने गरी समस्या सृजना नभएको तथा सहकारीहरुमा चुस्त व्यवस्थापन, दक्ष जनशक्तिको अभाव तथा आन्तरिक नियन्त्रण प्रणाली कमजोर हुन जाँदा समस्या हुने हुँदा हामी जिल्लाका सहकारी संस्थाहरुको स्थानीय तह, प्रशासन तथा प्रदेश दर्ता अधिकारीको कार्यालय संग समन्वय गरी तत्काल अनुगमन गरी कुनैमा केही समस्या देखिए सुधारात्मक दिशामा अघि बढाउन निर्देशन, पहल र पैरवी गर्ने व्यहोरा अवगत गराउदछु।जिल्लाका अधिकांश सहकारीहरु समुदायमा आधारित भई जनताले मासिक रुपमा १ सय, २ सय रुपैया उठाएर सञ्चालन भएकाले ढुक्क भएर बचत गर्न समेत सहकारी संस्थाका सदस्यहरुलाई संघ अनुरोध गर्दछ।सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुले सहकारी मुल्य मान्यता सिद्धान्तको पूर्ण पालना गर्दै संस्था सञ्चालन गर्न पनि हामी अनुरोध गर्दछौ। संस्थाका गतिविधिहरुको सुक्ष्म ढंगले अध्ययन अवलोकन र निगरानी गरी अवका दिनमा सहकारी संस्थाहरुको अनुगमन पक्षलाई प्रभावकारी बनाउने र नियामक निकायलाई जिम्मेवार बनाउन हाम्रो भूमिका सक्रिय रुपमा रहनेछ ।जिल्लाका विभिन्न विषयगत सहकारी संस्थाहरु विशेषगरी बचत तथा ऋण सहकारी संस्था, कृषि सहकारी संस्था, दुग्ध सहकारी लगायतलाई क्रियाशील बनाई उत्पादन बजारीकरण र उद्यमशीलताका लागि संभावनाहरुको खोजी गर्ने, सहकारी अभियानलाई नयाँ जागरणका साथ अगाडि बढ्न विभिन्न निकायसंग पहल पैरवी बढाउने र आर्थिक स्रोतको खोजी गर्ने, सहकारी संघमा आबद्धताका लागि विस्तार प्रक्रियालाई अगाडि बढाउने, र पालिका स्तरमा घरेलु पसल संचालन गर्ने लगायतका मुख्य प्राथमिकताका साथ हामी लागि परेको जानकारी गराउदै जिल्लाको सहकारी अभियानलाई नयाँ उचाईमा पूर्याउन हातमा हात साथमा साथ मिलाई सहयोग गर्न सम्पूर्ण संचारकर्मी एवं सहकारीप्रेमी महानुभावहरुमा सादर अपिल गर्दछु। धन्यवाद।
प्रतिक्रिया राख्नुहोस्