राम बहादुर बिश्वकर्मा
प्यूठान,खेलकुदको विकास,स्थानीय प्रतिभाको पहिचान र युवा पुस्तालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यसहित प्यूठान नगरपालिका वडा नम्बर ३ को आयोजनामा विजुवारमा ‘विजय पथ कप’ जिल्ला स्तरीय अन्तरपालिका खुला पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने भएको छ। कार्तिक १३ गते शुक्रबारदेखि विजुवारस्थित गणतान्त्रिक खेलमैदानमा सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टोलीले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। त्यस्तै,दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ र तेस्रो हुने दुई टोलीले जनही १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।प्रतियोगिता सञ्चालनका लागि प्यूठान नगरपालिका वडा नम्बर ३ ले तीन लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको प्यूठान नगरपालिकाका नगर प्रवक्ता एवं वडा नम्बर ३ का वडाध्यक्ष सुमन राज श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितालाई व्यवस्थित,प्रतिस्पर्धात्मक र आकर्षक बनाउन आवश्यक तयारी पूरा भइसकेको छ।
श्रेष्ठका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य जिल्लामा भलिबल खेलको विकास गर्नु,खेलाडीको क्षमता अभिवृद्धि गर्नु र स्थानीय स्तरमा रहेका प्रतिभालाई उजागर गर्नु हो। खेलकुदका गतिविधिलाई गाउँ तथा बस्तीस्तरसम्म विस्तार गर्न सके नयाँ खेलाडी उत्पादन हुनुका साथै जिल्लाको खेलकुद क्षेत्रले गति लिने उहाँको भनाई छ।
“खेलकुद मनोरञ्जनका लागि मात्रै होइन,युवाको प्रतिभा पहिचान गर्ने,अनुशासन सिकाउने र उनीहरूलाई सकारात्मक गतिविधिमा जोड्ने महत्वपूर्ण माध्यम पनि हो,” श्रेष्ठले भन्नुभयो,“स्थानीय स्तरमा यस्ता प्रतियोगिता आयोजना गर्दा खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउँछन्। त्यसैले खेलकुदको विकासका लागि प्रतियोगितालाई प्राथमिकतामा राखेका हौँ।”
उहाँले प्रतियोगिता पुरस्कार वितरणमा मात्रै सीमित नभई गाउँघरमा रहेका प्रतिभावान् खेलाडीलाई अगाडि ल्याउने र उनीहरूमा आत्मविश्वास बढाउने माध्यम बन्ने विश्वास व्यक्त गर्नुभयो। “खेलाडीले आफ्नो प्रतिभा देखाउन पाउने वातावरण बनाउन सके भविष्यमा जिल्लाका लागि राम्रो उपलब्धि हासिल गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
प्रतियोगिताले खेलाडीबीच स्वस्थ प्रतिस्पर्धा,आपसी सद्भाव र सहकार्यको भावना विकास गर्नुका साथै युवालाई खेलकुदप्रति थप आकर्षित गर्ने अपेक्षा गरिएको छ। वडा नम्बर ३ को आयोजनामा सञ्चालन हुन लागेको ‘विजय पथ कप’ ले स्थानीय खेलाडीलाई प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै जिल्लाको भलिबल खेलको विकासमा योगदान पुर्याउने विश्वास आयोजकले लिएको छ।

प्रतिक्रिया राख्नुहोस्