प्यूठान,झिमरुक गाउँपालिकामा लैङ्गिक समानता, सामाजिक समावेशीकरण,महिला सशक्तीकरण र स्वास्थ्यसम्बन्धी सचेतनामूलक नाटक प्रदर्शन गरिएको छ। बुधबार जर्मन विकास सहयोग (GIZ) को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा मन्डेला नाटक समूहले पालिकाको सभाहलमा नाटक प्रदर्शन गरेको हो। नाटक ‘फर्किने बाटो’ मञ्चीय प्रस्तुतिमार्फत समुदायका सवाललाई उजागर गर्दै दर्शकलाई ती विषयमा सोच्न, छलफल गर्न र आफ्नो धारणा व्यक्त गर्न प्रेरित गर्ने उद्देश्यले तयार गरिएको छ। समुदायमा विद्यमान सामाजिक कुरीति, असमानता र विभेद न्यूनीकरण गर्दै स्थानीय नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने र जागरुक बनाउने उद्देश्यले नाटक प्रदर्शन गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसीले जानकारी दिनुभयो ।नाटकमार्फत महिलाले भोग्नुपरेका सामाजिक चुनौती,निर्णय प्रक्रियामा महिलाको सहभागिताको महत्त्व तथा आर्थिक र सामाजिक रूपमा महिला सशक्तीकरणको आवश्यकतालाई समेत नाटकमा प्रस्तुत गरिएको थियो। साथै, सबै वर्ग, जाति र समुदायको समान सहभागिता सुनिश्चित गर्दै सामाजिक समावेशीकरण प्रवर्द्धन गर्नुपर्ने सन्देशसमेत नाटकमा समेटिएको थियो।नाटक प्रदर्शनपछि स्थानीय दर्शकहरूले यस्ता सचेतनामूलक कार्यक्रमले समाजमा सकारात्मक सोच विकास गर्न र विभेद न्यूनीकरणमा सहयोग पुग्ने प्रतिक्रिया दिएका थिए।कार्यक्रमको समापनमा गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले समाज रूपान्तरणका लागि कला र रंगमञ्च प्रभावकारी माध्यम भएको बताउनुभयो। उहाँले आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने तथा लक्षित वर्गको उत्थानका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा जोड दिने प्रतिबद्धता जनाउनुभयो ।कार्यक्रममा गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री, उपाध्यक्ष प्रमोद पोख्रेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत विकास केसी,जर्मन विकास सहयोग (GIZ) प्रतिनिधि, वडाध्यक्ष, कार्यपालिका सदस्य, मण्डला थिएटर नेपालका कलाकारहरू, विभिन्न शाखाका कर्मचारी, स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकालगायत स्थानीयको उपस्थिति थियो।सहभागीहरूलाई स्वास्थ्य तथा अन्य सामाजिक सवालका विषयमा छलफल, अनुभव आदानप्रदान र सामूहिक सहभागिता गराउदै समाजमा भएका खास समस्याको मुल पत्ता लगाउने र त्यो समस्यालाई कसरी हल गर्ने विषयबस्तुलाई खेलमार्फत स्पष्ट गराउने प्रयत्न गरेको थियो ।लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ६ स्थानीय तहमा ‘फर्किने बाटो’ नाटक प्रदर्शन गरिन लागेको मण्डला थिएटर नेपालले जनाएको छ ।स्थानीय समुदायसँगको अन्तरक्रिया र सहभागितालाई महत्त्व दिएर तयार गरिएको यो नाटकले स्वास्थ्य र सामाजिक समावेशीकरणका विषयमा समुदायस्तरमा संवादको अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया राख्नुहोस्