झिमरुक गाउँपालिकामा ट्राफिक सचेतना : नियम बुझ्न जनप्रतिनिधि र कर्मचारी एकै ठाउँमा

झिमरुक गाउँपालिकामा ट्राफिक सचेतना : नियम बुझ्न जनप्रतिनिधि र कर्मचारी एकै ठाउँमा

राम बहादुर विश्वकर्मा 
प्युठान,सडक सुरक्षा र ट्राफिक नियमको पालना केवल सवारी चालकको मात्र दायित्व होइन,सम्पूर्ण नागरिक तथा सार्वजनिक निकायको साझा जिम्मेवारी हो।यही सन्देशलाई व्यवहारमा उतार्ने उद्देश्यसहित झिमरुक गाउँपालिकामा ट्राफिक सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
अस्थायी ट्राफिक प्रहरी पोस्ट बाग्दुला र मच्छिको आयोजनामा झिमरुक गाउँपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूलाई ट्राफिक ऐन,नियम र सडक सुरक्षा सम्बन्धी आधारभूत ज्ञान प्रदान गरिएको हो।
अस्थायी ट्राफिक प्रहरी पोस्ट बाग्दुला इन्चार्ज प्रहरी हवलदार चन्द्र नगरकोटीका अनुसार सडक दुर्घटना न्यूनीकरण र ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन स्थानीय तहका जिम्मेवार व्यक्तिहरूलाई सचेत गराउनु आवश्यक छ।
उनले भने,“ट्राफिक नियमको पालना केवल दण्डको डरले होइन,जीवन सुरक्षाको चेतनाले हुनुपर्छ।जनप्रतिनिधि र कर्मचारी नै सचेत भएमा समुदायमा पनि सकारात्मक प्रभाव पर्छ।”
कार्यक्रममा सवारी सञ्चालनका क्रममा ध्यान दिनुपर्ने नियम,हेलमेट तथा सीटबेल्टको प्रयोग,गति नियन्त्रण,पैदल यात्री सुरक्षालगायतका विषयमा विस्तृत जानकारी दिइएको थियो। साथै,ग्रामीण क्षेत्रमा बढ्दो सवारी चाप र सम्भावित दुर्घटना जोखिमबारे पनि छलफल गरिएको थियो।
झिमरुक गाउँपालिकाका जनप्रतिनिधिहरूले यस्तो प्रशिक्षणले आफूहरूलाई व्यवहारिक रूपमा सचेत बनाएको प्रतिक्रिया दिएका छन्। उनीहरूले स्थानीय स्तरमै ट्राफिक सचेतना कार्यक्रम नियमित गर्न आवश्यक रहेकोमा जोड दिएका छन्।सडक विस्तारसँगै ग्रामीण क्षेत्रमा सवारी साधनको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिम पनि बढिरहेको छ। यस्तो अवस्थामा ट्राफिक नियमबारे स्थानीय तहमै ज्ञान विस्तार हुनु दीर्घकालीन रूपमा सुरक्षित यातायात व्यवस्थापनतर्फको महत्वपूर्ण कदम मानिएको छ।
कार्यक्रमले केवल नियम सिकाउने मात्र होइन,सुरक्षित सडक संस्कृति निर्माण गर्ने आधार पनि तयार गरेको सहभागीहरूको बुझाई छ।