दैनिक ९ हजार अण्डा उत्पादन : नमुना पोल्ट्री फार्मका उद्यमी अधिकारीको सफलता

दैनिक ९ हजार अण्डा उत्पादन : नमुना पोल्ट्री फार्मका उद्यमी अधिकारीको सफलता

राम बहादुर विश्वकर्मा


प्युठान,जहाँ अधिकांश युवा अवसरको खोजीमा विदेशतिर लागिरहेका छन्,त्यही समयमा प्युठान नगरपालिका–७,टिकुरीका प्रदिप अधिकारीले भने आफ्नै गाउँमै सम्भावना देखे।अरूले विदेशमा भविष्य खोजिरहँदा उनले आफ्नै माटोमा पसिना बगाएर सफलता हासिल गर्ने बाटो रोजे।


करिब १ करोड रुपैयाँ लगानी गरेर उनले आधुनिक पोल्ट्री फार्म सञ्चालन गरिरहेका छन्। अहिले उनको फार्म जिल्लाकै सफल तथा नमुना व्यवसायमध्ये एकका रूपमा स्थापित भएको छ।
पढाइपछि जागिरको खोजीमा भौतारिनुपरेका अधिकारीलाई लामो समयसम्म अवसरले साथ दिएन। तर उनले परिस्थितिलाई दोष दिएर बस्ने बाटो रोजेनन्।बरु आफ्नै सीप,मेहनत र आत्मविश्वासको भरमा व्यवसाय सुरु गर्ने निर्णय गरे।
“जागिरको पछि मात्र दौडिरहँदा समय खेर जाने रहेछ। आफैं केही गर्नुपर्छ भन्ने सोच आयो,”अधिकारी भन्छन्।

 नमुना पोल्ट्री फार्मका सफल उद्यमी प्रदिप अधिकारी


सुरुमा उनले सानो लगानीबाट कुखुरा पालन थाले।अनुभव कम थियो,जोखिम धेरै थियो,बजारप्रति निश्चितता थिएन।तर सिक्ने इच्छा र कामप्रतिको लगावले उनलाई बिस्तारै अघि बढायो।
आज उनको फार्ममा ९ हजार लेयर्स कुखुरा छन्,जसबाट दैनिक करिब ९ हजार अण्डा उत्पादन हुने गरेको छ।उत्पादन ठूलो भए पनि जिल्लाको माग अझै धान्न सकिएको छैन।
“अहिले उत्पादन राम्रो छ,तर माग धेरै भएकाले सबै ग्राहकलाई सहजै अण्डा दिन सकिएको छैन,”उनी बताउँछन्।
उत्पादनको बजार व्यवस्थापनमा उनलाई कुनै समस्या छैन। ग्राहक आफैं सम्पर्क गरेर अण्डा लिन आउने भएकाले बिक्रीको चिन्ता छैन। घरबाटै क्यारेटका क्यारेट अण्डा बिक्री हुने गरेको छ।
“बजार खोज्न जानुपर्दैन। ग्राहक आफैं आउनुहुन्छ,अर्डर गर्नुहुन्छ,”अधिकारी भन्छन्।
फार्ममा आधुनिक संरचना,व्यवस्थित शेड,दाना तथा पानी आपूर्ति प्रणाली,तापक्रम नियन्त्रण र रोग नियन्त्रणका उपाय अपनाइएको छ। गुणस्तरीय उत्पादन र सरसफाइमा विशेष ध्यान दिने गरिएको छ।
सरकारी अनुदान बिना बैंकबाट ऋण लिएर व्यवसाय विस्तार गरेका अधिकारीले जोखिमलाई अवसरमा बदल्न सफल भएका छन्। हाल उनले मासिक करिब ८० हजार रुपैयाँ आम्दानी गर्दै आएका छन्।
अधिकारीको परिवारमा श्रीमती,२ छोरा र १ छोरी छन्। यही व्यवसायले परिवारको आर्थिक अवस्था मजबुत बनाएको छ।बालबच्चाको शिक्षा,घरखर्च र भविष्य व्यवस्थापनमा व्यवसायले महत्वपूर्ण भूमिका खेलेको उनी बताउँछन्।
“पहिला परिवार कसरी चलाउने भन्ने चिन्ता थियो। अहिले आफ्नै कामले आत्मविश्वास दिएको छ,”उनी भन्छन्।स्थानीय बजारमा ताजा अण्डा तथा कुखुराको आपूर्ति गर्दै आएका अधिकारीले केही व्यक्तिलाई रोजगारीको अवसर समेत दिएका छन्।त्यसैले उनी अहिले केवल सफल व्यवसायी मात्र होइन,स्थानीय युवाका लागि प्रेरणाको स्रोत पनि बनेका छन्।
विदेश जाने सोच बनाएका युवालाई उनको सन्देश स्पष्ट छ “अवसर विदेशमै मात्र छैन। मेहनत,योजना र धैर्य भए आफ्नै गाउँमा पनि राम्रो गर्न सकिन्छ।”
प्युठानमा कृषि तथा पशुपालन व्यवसायप्रति बढ्दो आकर्षणबीच प्रदिप अधिकारीको सफलता कथा धेरै युवालाई नयाँ सोच दिने उदाहरण बनेको छ।आफ्नै माटोमा मेहनत गरेर पनि सपना पूरा गर्न सकिन्छ भन्ने जीवन्त प्रमाण बनेका छन् उनी।