राम बहादुर विश्वकर्मा
प्युठान,“म काम गरिरहेको थिएँ,अचानक समूह आएर आक्रमण गर्यो। मलाई ज्यान मार्ने उद्देश्यले नै कुटपिट गरियो।”
निर्माण व्यवसायी दधिराम भण्डारीले पत्रकार सम्मेलनमा आँसु झार्दै आफ्नो पीडा यसरी सुनाए। उनको स्वरमा डर,पीडा र असुरक्षाको अनुभूति स्पष्ट झल्किन्थ्यो।
“मलाई ज्यान मार्ने उद्देश्यले नै आक्रमण गरियो” : निर्माण व्यवसायी भण्डारी
ललित निर्माण सेवाका सञ्चालक भण्डारीमाथि आइतबार सरुमारानी गाउँपालिका–६ बायखोलामा निर्माण कार्य सञ्चालन भइरहेका बेला आक्रमण भएको बताइएको छ।कार्यस्थलमै खटिएका उनीमाथि स्थानीय स्तरमा जिप सञ्चालन गर्ने चालक,सहचालक लगायतको समूहले आक्रमण गरी घाइते बनाएको जनाइएको छ।
विकास निर्माणका कामलाई समयमै सम्पन्न गर्न फिल्डमै खटिने व्यवसायीमाथि भएको यस्तो घटनाले निर्माण क्षेत्रलाई तरंगित बनाएको छ। सामान्यतया पूर्वाधार निर्माणका काममा समयसीमा,स्थानीय समन्वय र विभिन्न व्यवस्थापकीय चुनौती सामना गर्नुपर्ने व्यवसायीहरूलाई अब सुरक्षाको थप चिन्तासमेत थपिएको देखिन्छ।
घटनापछि निर्माण व्यवसायी संघ प्युठानले पत्रकार सम्मेलन आयोजना गर्दै घटनाप्रति गम्भीर आपत्ति जनाएको छ। संघका अध्यक्ष नवीन कुमार श्रेष्ठले विकास निर्माणका काममा खटिने व्यवसायीमाथि कार्यस्थलमै आक्रमण हुनु अत्यन्त दुःखद र निन्दनीय भएको बताए।
उनका अनुसार विकास निर्माणलाई प्रभावकारी रूपमा अघि बढाइरहेका व्यवसायीमाथि ज्यानै जोखिममा पार्ने गरी भएको आक्रमणले जिल्लाभरका निर्माण व्यवसायीहरूमा असुरक्षाको भावना बढाएको छ।
“व्यवसायीहरू विकासका साझेदार हुन्। उनीहरूलाई कार्यस्थलमै असुरक्षित बनाइनु समग्र विकास वातावरणकै लागि चुनौती हो,”अध्यक्ष श्रेष्ठले बताए।
संघले घटनामा संलग्न सबै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न,यस्ता घटना दोहोरिन नदिन कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न तथा घाइते व्यवसायीलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।
दधिराम भण्डारीमाथि भएको यो घटनाले फेरि एकपटक गम्भीर प्रश्न उठाएको छ,विकास निर्माणमा अग्रपंक्तिमा खटिने जनशक्ति नै सुरक्षित छैनन् भने विकासको यात्राले गति कसरी लिन्छ ?
यदि यस्ता घटनामा समयमै निष्पक्ष छानबिन र कानुनी कारबाही हुन सकेन भने यसले निर्माण व्यवसायीहरूमा निराशा र असुरक्षाको भावना झनै बढाउने निश्चित छ। विकासको लक्ष्य हासिल गर्न पूर्वाधार निर्माण जति आवश्यक छ, त्यसमा खटिने मानिसहरूको सुरक्षा त्यत्तिकै अपरिहार्य छ।
प्रतिक्रिया राख्नुहोस्