राम बहादुर बिश्वकर्मा
प्युठान,निर्माण व्यवसायी संघ प्युठानका सदस्य तथा ललित निर्माण सेवाका प्रोप्राइटर दधिराम भण्डारीमाथि निर्माण कार्यकै क्रममा साङघातिक आक्रमण भएको घटनाप्रति व्यवसायीहरूले गम्भीर ध्यानाकर्षण जनाएका छन्।
सरुमारानी गाउँपालिका वडा नं.६ बायखोलामा निर्माण कार्य सञ्चालन भइरहेका बेला कार्यक्षेत्रमै खटिएका भण्डारीमाथि स्थानीय स्तरमा जिप सञ्चालन गर्ने चालक,सहचालक लगायतको समूहले आक्रमण गरी घाइते बनाएको बताइएको छ। घटनापछि उनको उपचार भइरहेको स्रोतले जनाएको छ।
निर्माण व्यवसायी संघ प्युठानले विकास निर्माणका काममा अहोरात्र खटिने व्यवसायीमाथि यसरी कार्यस्थलमै आक्रमण हुनु अत्यन्त दुःखद,निन्दनीय र गम्भीर सुरक्षा चुनौती भएको जनाएको छ।संघका अध्यक्ष नवीन कुमार श्रेष्ठका अनुसार विकास निर्माणलाई प्रभावकारी रूपमा अघि बढाइरहेका व्यवसायीमाथि ज्यानै जोखिममा पार्ने गरी भएको आक्रमणले जिल्लाभरका निर्माण व्यवसायीहरूमा असुरक्षाको भावना बढाएको छ।
संघले घटनामा संलग्न सबै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न,यस्ता घटना दोहोरिन नदिन कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न तथा घाइते व्यवसायीलाई न्याय दिलाउन सम्बन्धित निकायसँग माग गरेको छ।
विकास निर्माण कार्यमा संलग्न जनशक्ति र व्यवसायीको सुरक्षा सुनिश्चित नगरे जिल्लामा भइरहेका पूर्वाधार निर्माणका कामसमेत प्रभावित हुन सक्ने भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्।
प्रतिक्रिया राख्नुहोस्