असारको लगानी बालुवामा पानी,नागरिकलाई सास्ती,पहुँचवालालाई मस्ती

असारको लगानी बालुवामा पानी,नागरिकलाई सास्ती,पहुँचवालालाई मस्ती

राम बहादुर बिश्वकर्मा
प्युठान,असार महिनामा सडकमा गरिएको लगानीको पूर्णरूपमा मूल्यांकन गर्ने बेला पनि आउँदो रहेछ। विगतका वर्षझैँ यो वर्ष पनि सडकमा गरिएको लगानी खेर जाने अवस्था देखिएको छ। प्रायः सबै स्थानका सडकमा यस्तै समस्या छ। कतिपय नाली विस्तार गरेरै खनिएका सडकहरूमा पनि यस्तो समस्या बढेको गुनासो छ।

कार्यकर्ता भिजाउनका लागि सबै जिल्लाका वडा–वडामा गरिएको सडक विकासले धेरै विकृति ल्याएको छ। यस्ता विकृति रोक्दै अब स्थानीय सरकारले सडकमा हुने लगानीलाई व्यवस्थित र पारदर्शी बनाउनुपर्ने देखिएको छ। जसरी पनि र जताबाट पनि रकम सक्न मिल्ने सडक निर्माणलाई असारे सडक भनिन लागेकको छ। जति करोड पनि लगानी गर्न मिल्ने र जति लाख पनि सकिएको बिल देखाउन मिल्ने सडकमा धेरै लगानी गर्नुले यहाँ केही न केही बदमासी हुने आँकलन गर्न सकिन्छ।

तस्बिर: प्युठान नगरपालिका ९ मरन्ठाना बुढादेबी मरेङ्ग,चुदरिखोला भेगका सडक अवरुद्ध (सीता बि.क)

यस्ता प्राकृतिक बिपत्ति लाई समेत ख्याल गरि आगामी दिनमा अब हरेक स्थानीय तहले कुन सडकलाई कसरी अगाडि बढाउने भन्नेबारेमा पुर्ब अनुमान गरि गाउँ वा नगरसभाबाटै नीति पास गरेर नालीसहितको पक्की सडक निर्माण गर्नेबारे गुरुयोजना मार्फत काम अगाडि बढाउनु पर्ने जनता नेरा प्रा बि का प्रध्यानाध्यापक बिकास के सि ले बताउनुभयो।
यसो नगरे हरेक वर्ष सडकमा लगानी हुने लाखौं रकम वर्षातको भेलझैँ अर्थहीन हुने देखिन्छ। उहाँ भन्नुहुन्छ -"बजेटको असारे लगानी,त्यो पनि सडकमा अनि वर्षाका भेलसँगै किन नबगोस् त ?
विकासका नाममा यस्तो क्रियाकलापले विकास नभएर विनास हुने खतरा बढेको पाइन्छ।"मुनाफा कमाउने उद्देश्यले मात्र मनपरि रुपमा रातारात जेसीभी लगाएर सडक निर्माण थालेकाले बर्सेनि यस्तो सास्ती झेल्नुपरेको स्थानीयले आरोप लगाएका छन । 

तस्बिर:नौबहिनी गाउँपलिका,खबाङ रुङबाङ ( महेश थापा)

 

तस्बिर:प्युठान नगरपालिका ९ मरन्ठाना चुदरिखोला (बिष्णु बिष्ट)

 

तस्बिर:सरुमारानी गाउँपालिकाको केन्द्र बड्डाडा -ऐरावती जोड्ने मोटरबाटो क्षतविक्षत (सलिम अन्सारी)