सीता बि.क
प्युठान,हरेक वर्षा झैं यो पालि पनि पहाडी भेगका सडकहरु वर्षाले क्षतविक्षत भएका छन्। केही दिनयता दिन बिराएर पानी परिरहदा जिल्लाको पहाडी भेगका दर्जनौं सडकहरु पहिरो र हिलोले यातायात सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन्।
खासगरी ग्रामीण क्षेत्रमा जोडिएको सडकदेखि छुटिएका शाखा र उपशाखा ग्रामिण सडकखण्ड जताततै भत्कनुका साथै पहिरोले पुरिने र हिलो भरिएर यातायात आउजाउमा समस्या भएको हो।
वर्षाले कच्ची सडकहरु भत्कने, पुर्ने, पहिरो जाने र हिलोले खाल्डाखुल्डी पर्दा गाडी चलाउन समस्या परेको यातायात व्यवसायीहरु बताउँछन्। ब्यबसायीहरुका अनुसार पहाडी भेगका प्राय सबै कच्ची सडकहरुको हालत लगभग उस्तै छ।
समथर भूभागमा डुबान र कटानको समस्या पर्ने गरे पनि वर्षाले पहाडी भेगका सडकहरु भने पहिरोकै समस्या खेप्नुपर्ने अवस्था छ।
केही दिनयता हरेक दिनजसो वर्षा भईरहेको छ। निरन्तर हुने वर्षाले भत्कने पहिरो मर्मत गरे पनि तुरुन्त भत्कने गर्दा सडक मर्मत पनि दिगो नहुने स्थानीय बताउँछन्। धेरैजसो भर्खर खनिएका कच्ची सडक भएकाले जताततै पहिरो र हिलोले चारपाङग्रे साधन हिड्न सक्ने अवस्थामा छैन। मोटरसाईकल सम्म पहम्मे हम्मे गरि चल्न सक्ने अवस्था रहेको स्थानीय बताउँछन्।
त्यस्तै लगातार वर्षाका कारण प्युठान नगरपालिका ९ मतन्ठाना बुढादेबी मरेङ्ग, चुदरिखोला भेगका सडक अवरुद्ध भएको छ। बुधबार विहानदेखि निरन्तरजस्तो भईरहेको वर्षाले पहिरो जानुका साथै कच्ची सडकमा पानी जमेर हिलाम्य भएपछि सानाठूला सवारी सञ्चालनमा अवरोध हुन पुगेको हो।
भर्खर खनिएका कच्ची सडक रहेको उक्त भेगमा जताततै पहिरो र हिलोले चारपाङग्रे त के मोटरसाईकलसम्म सञ्चालन गर्न कठिनाई हुन पुगेको स्थानीयले बताएका छन्। पहिरो र हिलोका कारण मरन्ठानाका आन्तरिक सडकहरु सबै चल्न नसक्ने अवस्थामा पुगेका छन्। वर्षाले पहिरो गएर स्थानीयहरु आवतजावत गर्न पनि धेरै कठिनाई भएको यहाँका सर्वसधारण बताउँछन्।
यस क्षेत्रका कच्ची सडकहरु वर्षायाममा हिलाम्य हुने समस्या त छदैछ, पहिरो पनि थपिएर सडक अवरुद्ध पारेपछि आउजाउ गर्न धेरै कठिनाई भोग्नु पर्ने समाजसेवी बासु के सि ले बताए।
स्थानीयका अनुसार नगरपालिकाका आन्तरिक तथा अन्तरपालिकास्तरीय दर्जनौं सडकहरु पहिरो र हिलोले सवारी सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका छन्।
हिउद वर्खा दुवै याममा फोरह्विलसहितका बोलेरो जीप र ट्याक्टर मात्र चल्ने ती सडकहरुमा अहिले ती पनि चल्न नसक्ने अवस्था आएको यहाँका यातायात व्यवसायी बताउँछन्।
पहिलेजस्तो सडक भत्कदा मर्मत गर्न जिल्ला र केन्द्रको मुख ताक्नु नपर्ने भएकाले त्यति ठूलो समस्या भने अहिले छैन। हरेक स्थानीयतहले आन्तरिक सडक बिग्रे भत्केका बेला आवश्यक बजेट तर्जुमा गरेर मर्मत गर्नुपर्ने नागरिकहरु बताउँछन्।
तस्बिर: ग्रामिण सडक अबरुद्ध हुँदा स्वास्थ्य समस्या भएकी गर्भवती महिलालाई स्वास्थ्य सस्थामा पुर्याउनै सकस
प्रतिक्रिया राख्नुहोस्