युवक संघका उपाध्यक्ष मुकुन्द रोका चढेको गाडी त्रिशुलीमा खस्यो,श्रीमती र छोरी बेपत्ता

युवक संघका उपाध्यक्ष मुकुन्द रोका चढेको गाडी त्रिशुलीमा खस्यो,श्रीमती र छोरी बेपत्ता

प्युठान,अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोका चढेको गाडी त्रिशुली नदीमा खसेको छ । गाडीमा सवार रोकाकी श्रीमती, छोरी र ड्राइभर बेपत्ता भएका छन् ।

प्युठानबाट काठमाडौं आउँदै गरेको लु१च ९७३१ नम्बरको जीप बिहीबार बिहान मुग्लिनभन्दा करिब दुई किलोमिटर वर त्रिशुलीमा खसेको हो । उपाध्यक्ष रोका भने त्रिशुलीमा पौडेर बाँच्न सफल हुनुभएको रोकाका आफन्त एवं झिम्रुक गाउँपालिकाका चालक शरद रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार गाडी चालक सूर्य केसी, रोकाकी श्रीमती जमुना र छोरी जेनिसा बेपत्ता छन् ।

छोरीको उपचारका लागि रोका दम्पत्ती बुधबार राति काठमाडौं आउँदै हुनुहुन्थ्यो । पत्थरीको अप्रेसन गरेकी ११ बर्षीया बालिकामा इन्फेक्सन भएपछि थप उपचारका लागि रोका दम्पती काठमाडौं आउन लागेको थियो ।

उपाध्यक्ष रोकालाई प्रहरीले उद्धार गरी उपचारका लागि पठाएको छ भने बेपत्ताको खोजी गरिरहेको छ । घटनास्थलमा गोताखोरसहितको प्रहरी टोली परिचालन गरी बेपत्ताको खोजी भइरहेको छ ।

घाइते हुनुभएका रोकाको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष एवं सांसद दुर्गा पौडेलले जानकारी दिनुभएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

युगदर्शन बाट