प्युठान नगरपालिकामा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा : प्रभावकारीताका लागि कार्यशाला 

प्युठान नगरपालिकामा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा : प्रभावकारीताका लागि कार्यशाला 

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिकाले तयार गरेको स्थानीय बिषयको पाठ्क्रमबारे स्थानीय बिषय अध्यापन गर्ने शिक्षकहरुका लागि कार्यशाला सम्पन्न भएको छ।
संघिय गणतन्त्रात्मक राज्य व्यबस्था शुरु भएपछि नेपाल सरकार पाठ्यक्रम बिकास केन्द्रले निर्धारण गरेका पाठ्यक्रम बाहेक स्थानीय तहले आफ्नो स्थानीय तहको पहिचान हुने गरी छुट्टै पाठ्यक्रम निर्माण गरी बिधालयहरुमा लागु गर्न पाउने अधिकार प्राप्त भएपछि प्युठान नगरपालिकाले पनि हाम्रो प्युठान नगरपालिका नामक पाठ्यक्रम तयार गरेको हो।बिधालयहरुमा हाम्रो प्युठान नगरपालिका नामक पाठ्यक्रम लागु भएपछि बिधालयमा शिक्षण गर्ने शिक्षक तथा शिक्षिकाहरुलाई पाठ्यक्रमले निर्धारण गरेका बिषयबस्तु अनुसार शिक्षण गर्न सहज हुने पाठ्य सामग्रीहरुको उपलब्धता,पहिचान र त्यसको प्रयोगबारे सहजिकरण गर्ने उद्धेश्यका साथ प्रबोधिकरणात्मक तालिम सञ्चालन गरिएको प्युठान नगरपालिका शिक्षा शाखा प्रमुख बासु पण्डितले जानकारी दिनुभयो।नगरपालिकाका सबै शिक्षा सरोकारवाला तथा जानकारहरुबाट राय सुझाव लिई तयार गरिएको तथा नगरपालिकाले यसै शैक्षिक बर्षबाट कार्यन्वयनमा ल्याएको पाठ्यक्रमलाई परियोजना कार्य,प्रयोगात्मक कार्य स्थलगत अनुगमन अवलोकनका साथै अनुभव गर्दै सिक्ने बिधिबाट अध्यापन गर्ने मोडेलमा तयार गरिएको पाठ्क्रमका बारे बिषयगत शिक्षकहरुलाई  कार्यशाला गरिएको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।
स्थानीय सरकारलाई १ सय पूर्णाङ्कको पाठ्यपुस्तक बनाएर अध्यापन गराउन सक्ने संविधानमा व्यवस्था भए अनुसार प्युठान नगरपालिका शिक्षा शाखाको आयोजनामा आधारभुत तह कक्षा १–८ मा अध्यापन गर्ने नगरपालिका भरका सबै बिद्यालयका बिषय शिक्षकहरुलाई स्थानीय बिषयको पाठ्क्रमका आधारमा कसरी अध्यापन गर्ने भन्ने बिषयमा स्थानीय पाठ्क्रम बिज्ञ प्युठान नगरपालिका शिक्षा शाखा प्रमुख बासु पण्डित,इन्द्रमणी पोख्रेल,दामोदर पोख्रेल,माधव पोख्रेल,नर बहादुर घर्ती र प्रतिमा पौडेलले प्रबोधिकरण गर्नुभएको थियो।विषयगत क्षेत्र,पाठयपुस्तक तथा पाठ्य सामग्रीको प्रयोग, पाठ्य घण्टा, कार्य घण्टा, बिशिष्टिकरण तालिका अनुसार प्रश्नपत्र निर्माण गर्ने,सिकाइ उपलब्धि प्रमाणीकरण गरिने सम्बन्धी छलफलसहित नमूना प्रश्नपत्र निर्माण र प्रस्तुतिकरण समेत तालिममा गरिएको थियो ।
प्युठान नगरपालिकाको ऐतिहासिकता,सामाजिक,धार्मिक,पुरातात्विक,पर्यटकीय,सांस्कृतिक र आर्थिक महत्व लगायतका विषयहरु समावेश गरिएको छ।
संघीय तहबाट निर्माण हुने पाठ्यक्रम भन्दा स्थानीय पाठ्यक्रमले बालबालिकामा स्थानीय तबरमा अझ प्रभावकारी हुने भएकाले प्युठान नगरपालिकाको ऐतिहासिकता,सामाजिक,धार्मिक,पुरातात्विक,पर्यटकीय,सांस्कृतिक र आर्थिक लगायतका विषयमा गहन खोज,अध्ययन,अनुसन्धान गरी पठनपाठनको लागि बिभिन्न विषयवस्तु तयार पार्न सफल भएको स्थानीय पाठ्यक्रम निर्माण कार्यदल समितिका सदस्य दामोदर पोख्रेलले बताउनुभयो। जनता मा बि बाग्दुलाका प्रध्यानाध्यापक तथा स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सदस्य इन्द्रमणी पोख्रेलले तालिममा सहभागी शिक्षक शिक्षिकाहरुलाई स्थानीय पाठ्यक्रममा निर्धारण गरिएका क्षेत्रहरु उद्धेश्य र लक्ष्य हासिल गर्ने गरी स्थानीय श्रोत साधनहरुको अधिकतम प्रयोग गरी बिधालयमा शिक्षण कृयाकलाप सञ्चालन गर्नु पर्ने बताउनु भयो।स्थानीय पाठ्यक्रममा समाबेस गरिएका क्षेत्रहरुसंग सम्बन्धित आफुले जानेका अन्य स्थानीय श्रोतहरुको समेत बिधार्थीहरुलाई व्यबहारिक शिक्षाको रुपमा शिक्षण गर्न सके बिधार्थीहरुको शैक्षिक स्तरमा सुधार आउने पोख्रेलले बिश्वास व्यक्त गर्नु भयो। प्युठान नगरपालिका बिभिन्न जाती भाषा धर्म र संस्कृति भएका परिवारमा हुर्केका बालबालिकाहरु भएकाले ती बालबालिकाहरुलाई समुदाय समुदाय बिचको प्रगाढ सम्बन्ध स्थापित गर्न र एकले अर्कालाई सम्मान गर्ने गराउने संस्कार अनिवार्य रुपमा सिकाउनु पर्नेमा जोड दिदै पोख्रेलले भाषा,कला,संस्कृति र साहित्यको संरक्षण बिधालय तहबाटै हुनुपर्ने उल्लेख गर्नु भयो ।
सिद्ध मा बि जुम्री काडाका प्र अ तथा स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका सदस्य नर बहादुर घर्तीले स्थानीय पाठ्यक्रम निर्माण समितिले मेहनतका साथ पाठ्यक्रम निर्माण गरेको ठकुवा गर्दै स्थानीय तहमा भएका भेषभुषा,रीतिरिवाज, चालचलन लगायतका कुराहरु जानकारी हुने गरि पाठ्यक्रम निर्माण भएको बताउनुभयो।