राम बहादुर बिश्वकर्मा
प्युठान,बिहानको चिसो हावासँगै गाउँको शान्त वातावरणमा एउटा फरक चहलपहल सुनिन्छ। कुखुराजस्तै तर केही फरक आवाज यो आवाज हो कालिजको।यही आवाजसँग जोडिएको छ प्युठान नगरपालिका–८ खप्रेङ्ग्खोलाकि कृषक सिर्जना थापाको सफलताको कथा,जसले परम्परागत सोचलाई तोड्दै कालिज पालन व्यवसायमार्फत आत्मनिर्भर बन्ने उदाहरण प्रस्तुत गरेका छिन्।
गाउँमै केही गर्ने सपना धेरैले देख्छन्,तर त्यसलाई व्यवहारमा उतार्न हिम्मत र धैर्य चाहिन्छ। थापाले यही हिम्मत देखाइन।
सीमित स्रोतसाधन,अनुभवको अभाव र अनिश्चित बजारको जोखिम हुँदाहुँदै पनि उनले कालिज पालन व्यवसाय सुरु गर्ने निर्णय गररिन।
सुरुवाती चरण उनका लागि निकै चुनौतीपूर्ण रह्यो।आवश्यक ज्ञानको कमी,लगानीको अभाव र परिवार तथा समाजबाट आउने शंकाका बीच उनले आफ्नो यात्रा अघि बढाईन।
“सुरुमा धेरैले यो काम टिक्दैन भने,”उनी सम्झिन्छन्,“तर मैले हार मानिनँ।”
उनले विभिन्न तालिममा सहभागी हुँदै र अनुभवी कृषकसँग सल्लाह लिँदै आफ्नो सीप विकास गरे। सानो स्तरबाट सुरु गरेको फार्मलाई उनले मेहनत र लगनशीलताका साथ विस्तार गरिन।
कालिज पालन सामान्य कुखुरा पालनभन्दा फरक र केही जटिल मानिन्छ। यसका लागि उपयुक्त तापक्रम,सन्तुलित आहार,सरसफाइ र रोग नियन्त्रणमा विशेष ध्यान आवश्यक हुन्छ। थापाले आधुनिक व्यवस्थापन प्रणाली अपनाउँदै आफ्नो फार्मलाई व्यवस्थित बनाएका छिन्। नियमित खोप, पोषणयुक्त दाना र स्वच्छ वातावरणका कारण उत्पादन दर राम्रो र क्षति न्यून रहेको छ।
हाल उनको फार्ममा सयौँ कालिज छन्। मासु तथा अण्डा बिक्रीबाट उनले मनग्य आम्दानी लिँदै आएका छिन्। बजारमा कालिजको माग उच्च हुनुका साथै मूल्य पनि आकर्षक रहेकाले यो व्यवसाय दिनप्रतिदिन लाभदायक बन्दै गएको छ।
उनका अनुसार, “मिहिनेत गर्ने हो भने कालिज पालनबाट राम्रो आम्दानी लिन सकिन्छ।”
उनले वार्षिक करिब १ लाख ५० हजार रुपैयाँ बचत गर्न सफल भएका छन्,जुन ग्रामीण परिवेशमा उल्लेखनीय उपलब्धि हो।
थापाले बजार व्यवस्थापनलाई पनि उत्तिकै प्राथमिकता दिएका छिन्।स्थानीय बजारसँगै नजिकका जिल्लाहरूमा समेत कालिजको माग बढ्दो छ। विशेषगरी होटल तथा रेष्टुरेन्टहरूमा कालिजको मासुको माग उच्च रहेकाले बिक्रीमा समस्या नहुने उनी बताउँछन्।मागअनुसार आपूर्ति गर्न सके भविष्यमा अझ ठूलो विस्तारको सम्भावना रहेको उनको योजना छ।
नयाँ व्यवसाय सुरु गर्न चाहनेहरूलाई उनले महत्वपूर्ण सुझाव पनि दिएका छिन्।“पहिला सानो लगानीबाट सुरु गर्नुहोस्, अनुभव बटुल्दै विस्तार गर्नुहोस्। बजारको राम्रो अध्ययन गर्नुहोस् र तालिम लिन नछुटाउनुहोस्,”उनले भनिन।साथै,सरकारी निकायबाट प्राप्त हुने अनुदान,तालिम तथा प्राविधिक सहयोगको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिएका छिन्।
थापाको सफलता केवल व्यक्तिगत उपलब्धिमा सीमित छैन। उनले स्थानीय स्तरमै रोजगारी सिर्जना गरेका छिन्। फार्ममा केही युवाहरूलाई कामको अवसर प्रदान गर्दै गाउँमै आयआर्जनको वातावरण निर्माण गरेका छिन्,जसले वैदेशिक रोजगारीप्रति निर्भरता घटाउन सघाएको छ।
भविष्यमा उनले आफ्नो फार्मलाई अझ विस्तार गर्दै प्रजनन केन्द्र (ह्याचरी) सञ्चालन गर्ने योजना बनाएका छन्।यसबाट चल्ला उत्पादन गरी अन्य कृषकलाई उपलब्ध गराउने लक्ष्य छ। यदि यो योजना सफल भयो भने,प्युठान जिल्ला कालिज उत्पादनको महत्वपूर्ण केन्द्र बन्न सक्ने सम्भावना देखिन्छ।
थापाको कथा केवल एक व्यक्तिको सफलताको कथा मात्र होइन,यो सम्भावनाको कथा हो जहाँ इच्छाशक्ति,मेहनत र सही सोच भए गाउँमै बसेर पनि सम्मानजनक आम्दानी गर्न सकिन्छ भन्ने सन्देश दिन्छ।
आजको सन्दर्भमा,जब धेरै युवा रोजगारीका लागि विदेशिने सोचमा छन्,थापाजस्ता उदाहरणहरूले स्वदेशमै सम्भावना खोज्न प्रेरित गरिरहेका छन्। कृषि र पशुपालन क्षेत्रलाई आधुनिक र व्यावसायिक रूपमा अघि बढाउन सके नेपालमै समृद्ध भविष्य निर्माण सम्भव छ भन्ने कुरा उनको यात्राले स्पष्ट देखाएको छ।
प्रतिक्रिया राख्नुहोस्