राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठानमा वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। Global IME Bank बिजुवार शाखाको आयोजनामा मङ्गलबार बाल विद्या माध्यमिक विद्यालय मरन्ठाना मजुवामा अध्ययनरत कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको हो।
कार्यक्रममा डिजिटल बैंकिङ्गको प्रयोग, सुरक्षित बैंकिङ्ग अभ्यास, अनलाइन ठगीबाट जोगिने उपाय तथा वित्तीय अनुशासनका विषयमा विद्यार्थीहरूलाई जानकारी प्रदान गरिएको थियो। पछिल्लो समय बैंकिङ्ग कारोबारसँग सम्बन्धित ठगीका घटनाहरू बढ्दै गइरहेका कारण यस्ता गतिविधिमार्फत सचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बैंकका कर्जा प्रवाह अधिकृत सुशील अधिकारीले जानकारी दिनुभयो।
उहाँका अनुसार बैंकले वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले विद्यालय तथा समुदायस्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। विद्यार्थीहरूलाई सानैदेखि बचत गर्ने बानी बसाल्न, डिजिटल माध्यमबाट सुरक्षित कारोबार गर्न तथा वित्तीय निर्णयहरू सचेत भएर लिन प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो।
कार्यक्रमका क्रममा विद्यार्थीहरूले डिजिटल बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एटीएम प्रयोग, पासवर्ड सुरक्षाको महत्व, ओटीपीको गोपनीयता तथा साइबर ठगीबाट बच्ने उपायका बारेमा जानकारी लिएका थिए। सहभागी विद्यार्थीहरूले उत्साहपूर्वक कार्यक्रममा सहभागिता जनाउँदै आफ्ना जिज्ञासाहरू समेत राखेका थिए।
विद्यालयका प्रधानाध्यापक केशु गिरीले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा वित्तीय सचेतना अभिवृद्धि हुनुका साथै प्रविधिमैत्री र जिम्मेवार नागरिक बन्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले वर्तमान समयमा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएकाले बैंकिङ्ग सेवा पनि प्रविधिमा आधारित हुँदै गएको उल्लेख गर्दै विद्यार्थीहरूलाई सानै उमेरदेखि सुरक्षित र सचेत भएर डिजिटल माध्यमको प्रयोग गर्न सिकाउनु आवश्यक रहेको बताउनुभयो।
उहाँका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै भविष्यमा सुरक्षित बैंकिङ्ग अभ्यास गर्न महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै यस्ता कार्यक्रममार्फत विद्यार्थीहरूले सिकेका ज्ञान र जानकारी आफ्ना परिवार तथा समुदायसम्म पनि पुर्याउन सक्ने भएकाले वित्तीय साक्षरता विस्तार गर्न विद्यालयको भूमिका महत्वपूर्ण हुने उहाँले बताउनुभयो।
प्रतिक्रिया राख्नुहोस्