राम बहादुर बिश्वकर्मा
प्युठान,प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि प्युठान नगरपालिका–८ बाग्दुलास्थित नमुना मतदान केन्द्रमा यसपटक देखिएको दृश्य फरक छ। यहाँ नेतृत्वमा पनि महिला,व्यवस्थापनमा पनि महिला र समन्वयमा पनि महिला नै छन्। मतदान अधिकृतदेखि सहयोगी कर्मचारीसम्म सबै महिला खटिनुले यो केन्द्रलाई विशेष बनाएको छ।
मतदान केन्द्रका अधिकृत रञ्जना के.सि.का अनुसार मतदान स्थलमा निर्वाचन कर्मचारी र सुरक्षाकर्मी सबै महिला रहेका छन्। केन्द्रमा ९ जना निर्वाचन प्रहरी,४ जना सुरक्षाकर्मी र १२ जना निर्वाचन कर्मचारी खटिएका छन्।
‘क’ र ‘ख’ गरी दुई वटा मतदान स्थलमार्फत १ हजार १ सय ८८ जना मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने व्यवस्था मिलाइएको छ। मतदान कार्यलाई शान्तिपूर्ण, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी पूरा गरिएको उहाँले जानकारी दिनुभयो। निर्वाचन प्रक्रिया निर्वाचन आयोग नेपालको मापदण्डअनुसार सञ्चालन भइरहेको छ।
समाजमा महिला नेतृत्व अझै पनि पूर्ण रूपमा स्थापित भइनसकेको सन्दर्भमा बाग्दुलाको यो अभ्यास अर्थपूर्ण देखिएको छ। यसले महिलाहरू केवल सहभागी मात्र नभई निर्णयकर्ता र जिम्मेवारी वहन गर्ने नेतृत्वकर्ताका रूपमा पनि सक्षम रहेको सन्देश दिएको छ।
स्थानीय स्तरमा महिलाको सहभागिता विस्तार गर्न यस्ता उदाहरणले सकारात्मक मनोविज्ञान निर्माण गर्ने अपेक्षा गरिएको छ। बाग्दुलाको नमुना मतदान केन्द्रले देखाएको यो अभ्यासले भविष्यमा सार्वजनिक प्रशासन र लोकतान्त्रिक प्रक्रियामा महिलाको उपस्थिति अझ सुदृढ हुने संकेत दिएको छ।
प्रतिक्रिया राख्नुहोस्