नागरिकको सुरक्षा मेरो पहिलो दायित्व हो : डिएसपी अधिकारी

सीता बि.क
प्युठान,प्युठानमा हालै सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले समुदायसँग सहकार्य गर्दै जिल्लामा शान्ति र सुरक्षा कायम गर्न दृढ भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो,“नागरिकको शान्ति सुरक्षामा दृढ भई लाग्नेछु। प्रहरी जनताको सेवक हो,जनताको सेवा नै प्रहरीको पहिलो दायित्व हो।”उहाँले प्रहरी प्रशासनलाई जनमैत्री,शिष्ट र पारदर्शी बनाउँदै अघि बढ्ने बताउँदै,सेवामुखी प्रहरी प्रणाली निर्माणमा जोड दिनुभएको छ।
कार्यक्रममा सहभागी पत्रकारहरूले डिएसपी अधिकारीसँग जिल्लाका प्रमुख सामाजिक र सुरक्षा चुनौतीहरू जस्तै ट्राफिक समस्या,आत्महत्याका घटना,बजारमा अखाद्य वस्तुको बिक्रीवितरण र सडक दुर्घटनाजस्ता विषयमा प्रश्न गर्नुभएको थियो।
जवाफमा डिएसपी अधिकारीले भन्नुभयो “ट्राफिक व्यवस्थापन भनेको चिट काट्ने मात्रै होइन,जनचेतना अभिवृद्धि गर्नु मुख्य हो। चेकिङको नाममा कसैलाई अनावश्यक दुःख दिने काम स्वीकार्य छैन।”
यदि कसैले नियतवश कसैलाई दुःख दिने मनसायले काम गरेको खण्डमा त्यसबारे सुरुमा नै प्रहरीलाई जानकारी दिन पत्रकार र सर्वसाधारणलाई आग्रह गर्दै उहाँले थप्नुभयो“प्रहरीप्रति जनताको भरोसा बढाउन हामी सबै जिम्मेवार हुनुपर्छ।”
कार्यक्रमको अन्त्यमा डिएसपी अधिकारीले शान्ति सुव्यवस्था कायम गर्न समुदायसँगको सहकार्य र विश्वासको वातावरण निर्माण अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।
“प्रहरी र समुदायबीच विश्वासको सम्बन्ध गहिरो बनाउँदै मात्रै दिगो सुरक्षा सम्भव हुन्छ,”उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष श्रीराम भण्डारी सहित जिल्लामा कृयाशिल पत्रकारहरूको सहभागीता रहेको थियो।