प्युठान,चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै सरुमारानी गाउँपालिकाले सञ्चालन गरेको बजार अनुगमन अभियानमा १८ हजार ८ सय ६६ रुपैयाँ बराबरका म्याद गुज्रिएका सामग्रीहरू बरामद गरी नष्ट गरिएको छ।
गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको अनुगमन टोलीले वडा नं. २ दर्भान र वडा नं. ४ बड्डाँडा क्षेत्रका करीब ९४ वटा खुद्रा तथा थोक पसलमा निरीक्षण गरेको थियो। अनुगमनको क्रममा ९/९ वटा पसलहरूमा म्याद नाघेका खाद्य तथा उपभोग्य सामग्रीहरू फेला परेका थिए। बरामद भएका वस्तुहरूलाई स्थलगतरूपमै नष्ट गरिएको गाउँपालिकाले जनाएको छ।
यसरी नष्ट गरिएको थियो म्याद सकिएका सामाग्री
बजार अनुगमन टोलीमा,प्रहरी,पालिकाका कर्मचारी,बजार ब्यबस्थापन समिति,उद्योग बाणिज्य संघ सरुमारानी बजार इलाका समितीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो। पालिकाले अनियमित क्रियाकलापमा संलग्न व्यवसायीलाई मौखिक चेतावनी दिँदै,भविष्यमा उपभोक्ताको अधिकार विपरीत कार्य नगर्न आग्रह गरेको छ।
स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीका अनुसार, बजार अनुगमनको मुख्य उद्देश्य सुरक्षित र गुणस्तरीय वस्तु उपभोक्तासम्म पुर्याउने,व्यापारीलाई सचेत गराउने र उपभोक्ता अधिकारको सुनिश्चितता गर्नु हो।
"यस अभियानले स्थानीय व्यापारीलाई थप जिम्मेवार बनाएको छ भने उपभोक्तामा पनि सचेतना बढेको छ," रायमाझीले बताउनुभयो।
गाउँपालिकाले बजार अनुगमनलाई आगामी दिनहरूमा अझ व्यवस्थित,नियमित र प्रभावकारी बनाउँदै लैजाने योजना बनाएको बताइएको छ। यस्ता कार्यक्रमहरूले उपभोक्ताको स्वास्थ्य,अधिकार र विश्वासको संरक्षणमा उल्लेखनीय भूमिका खेल्ने विश्वास समेत लिइएको छ।
प्रतिक्रिया राख्नुहोस्