एमाले सरकारमा रहँदा र नरहँदाको अन्तर जनताले स्पष्ट रूपमा बुझेका छन् : नेता थापा

एमाले सरकारमा रहँदा र नरहँदाको अन्तर जनताले स्पष्ट रूपमा बुझेका छन् : नेता थापा

प्यूठान,नेकपा(एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्य थापाले एमाले सरकारमा रहँदा र नरहँदाको फरक जनताले व्यवहारमै अनुभूत गरिसकेको बताउनुभएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा प्यूठानमा आयोजित मतदाता भेटघाट तथा चुनावी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले यसपटकको निर्वाचन देशको भविष्यसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्नुभयो।
उहाँले अहिलेको निर्वाचन विकास,स्थायित्व र समृद्धि को पक्षमा उभिने कि अराजकता र गैरजिम्मेवारी लाई प्रश्रय दिने भन्नेबीचको निर्णायक लडाइँ भएको बताउनुभयो। “केपी शर्मा ओली नेतृत्वको एमाले सरकारले भूकम्पले क्षतिग्रस्त सिंहदरबार र धरहराको पुनर्निर्माण गर्‍यो, साथै ८ लाखभन्दा बढी घरविहीन नागरिकलाई सुरक्षित आवास उपलब्ध गरायो,”उहाँले भन्नुभयो, “तर एमाले सरकारमा नरहँदा बाढी, पहिरो र भूकम्पबाट प्रभावित नागरिकहरू आज पनि राहत र पुनर्स्थापनाको पर्खाइमा छन्।”
नेता थापाले जाजरकोट, रुकुम पश्चिम लगायतका भूकम्प प्रभावित क्षेत्रका नागरिकहरूलाई राज्यले समयमै राहत र पुनर्वास दिन नसकेकोप्रति गम्भीर आपत्ति जनाउनुभयो। उहाँका अनुसार यस्ता पीडितहरूको पीडालाई बेवास्ता गर्नु सरकारको गैरजिम्मेवारीको उदाहरण हो।
उहाँले अहिलेको निर्वाचनले अनधिकृत, असक्षम र जनताप्रति उत्तरदायी नभएका व्यक्तिहरूलाई सरकारबाट हटाएर एमाले नेतृत्वमा बलियो र स्थिर सरकार निर्माण गर्ने जनताको अवसर भएको दाबी गर्नुभयो।
देशको अवस्था चिन्ताजनक बन्दै गएको उल्लेख गर्दै नेता थापाले संविधान, राष्ट्रिय स्वाधीनता र नागरिक सर्वोच्चता खतरामा परेको चेतावनी दिनुभयो। “देश रहने कि नरहने, संविधान जोगिने कि नजोगिने र राष्ट्रिय स्वाभिमान कायम रहने कि नरहने भन्ने ऐतिहासिक घडीमा हामी आइपुगेका छौं,”उहाँले भन्नुभयो।
जनताको एक मतले देशलाई समृद्धि र स्थायित्वको बाटोमा लैजाने कि विदेशी शक्तिको इसारामा चल्ने कठपुतली शासनतर्फ धकेल्ने भन्ने निर्धारण हुने भएकाले जिम्मेवार र सचेत भएर मतदान गर्न उहाँले मतदातालाई आग्रह गर्नुभयो।