प्युठान,प्यूठानमा आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) जिल्ला कमिटीले संगठनात्मक रूपमा ठुलो तयारी थालेको छ। त्यसैको संकेतस्वरूप एमाले प्यूठानले ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। बुधबार बसेको जिल्ला सचिवालय बैठकले जिल्लाभर निर्वाचन अभियानलाई एकीकृत र प्रभावकारी बनाउने उद्देश्यसहित कमिटी निर्माण गरेको हो।
एमाले प्यूठानका अध्यक्ष विजयविराज विष्टका अनुसार निर्वाचन परिचालन कमिटीमा जिल्ला कमिटीका पदाधिकारीदेखि प्रदेश सल्लाहकार परिषद्,प्रदेश विभाग सदस्य,पालिका तहका जनप्रतिनिधि,जनवर्गीय संगठनका नेतृत्व तथा पूर्व केन्द्रीय सदस्यहरूसम्मलाई समेटिएको छ। “सबै तह र क्षेत्रलाई एउटै अभियानमा जोड्ने उद्देश्यले कमिटी बनाइएको हो,”अध्यक्ष विष्टले जानकारी दिनुभयो।
पालिका तहमा जिम्मेवारी बाँडफाँड
जिल्ला तहसँगै एमालेले पालिका स्तरीय निर्वाचन परिचालन कमिटी पनि गठन गर्दै संयोजकको जिम्मेवारी तोकेको छ।
स्वर्गद्वारी नगरपालिकामा नेत्रबहादुर रोका,प्यूठान नगरपालिकामा लक्ष्मीप्रकाश राजभण्डारी,गौमुखीमा ज्ञानुमाया केसी,झिमरुकमा मानबहादुर जि.सी,मल्लरानीमा दिपा पौडेल,ऐरावतीमा पुरन गुरुङ,माण्डबीमा श्रीधर रोका,नौबहिनीमा विष्णु के.सी र सरुमारानीमा झग बहादुर विश्वकर्मालाई संयोजक बनाइएको छ।
पालिका तहमा अनुभवी र प्रभावशाली नेताहरूलाई जिम्मेवारी दिइनुले एमालेले घर–घर अभियान लाई प्राथमिकतामा राखेको संकेत गर्छ।
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि एमालेले केन्द्रीय सदस्य तथा निवर्तमान सांसद सूर्य थापा लाई उम्मेदवार बनाइसकेको छ। यसले पार्टी नेतृत्वले प्यूठानमा निरन्तरता र अनुभवलाई महत्व दिएको देखिन्छ। संगठन विस्तारसँगै उम्मेदवार केन्द्रित अभियानलाई तीव्र बनाउने तयारी एमालेको देखिन्छ।
सल्लाहकार परिषद् सदस्यलाई बधाई
यसैबीच बैठकले प्रदेश सल्लाहकार परिषद् सदस्यमा मनोनित मधुर शर्मा,टंकबहादुर खड्का र शिवशंकर पोख्रेल लाई बधाई तथा सफल कार्यकालको शुभकामना पनि दिएको छ। यसले पार्टीभित्र समन्वय र उत्साह बढाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्