एमाले प्यूठानले तोक्यो चुनावी ‘कमाण्डर’सरुमारानीबाट दोस्रो चरणको अभियान

एमाले प्यूठानले तोक्यो चुनावी ‘कमाण्डर’सरुमारानीबाट दोस्रो चरणको अभियान

प्यूठान,आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) प्यूठानले संगठनलाई चुनावी मोडमा लैजान आक्रामक तयारी थालेको छ। पार्टीले जिल्लाभरि चुनावी गतिविधि प्रभावकारी बनाउने उद्देश्यसहित अनुभवी तथा संगठनमा पकड भएका नेताहरूलाई ‘कमाण्डर’को जिम्मेवारी तोकेको छ।
जिल्ला सचिवालय बैठकबाट निर्णय गर्दै एमाले प्यूठानले प्रदेश कमिटीमा रहेर पालिका इन्चार्जको भूमिका निभाइरहेका नेताहरूलाई प्रत्यक्ष रूपमा चुनावी अभियानको नेतृत्व सुम्पिएको हो। यसले संगठनात्मक स्पष्टता, जिम्मेवारीको बाँडफाँड र फिल्डमा एकरूपता ल्याउने अपेक्षा गरिएको छ।
एमाले प्यूठानका सचिव इन्द्रमणि पोख्रेलका अनुसार चुनावी अभियानलाई केन्द्रित, अनुशासित र परिणाममुखी बनाउने उद्देश्यले नेतृत्व तोकिएको हो। “अनुभव भएका र स्थानीय अवस्था राम्ररी बुझेका नेताहरूलाई कमाण्ड दिँदा अभियान प्रभावकारी हुन्छ,” पार्टीको बुझाइ छ।


को–को बने चुनावी कमाण्डर?

चुनावी अभियानको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका नेताहरूमा केन्द्रीय कमिटीका पूर्व सदस्य हरि प्रसाद रिजाल,प्रदेश कमिटी सचिवालय सदस्य तुल्सीराम शर्मा तथा प्रदेश कमिटी सदस्यहरू धन बहादुर रायमाझी,नेत्रबहादुर रोकाय,श्रीधर रोका,पुरन गुरुङ र झगबहादुर विश्वकर्मा रहेका छन्।
त्यसैगरी प्रदेश कमिटी सदस्य लक्ष्मी प्रकाश राजभण्डारी,दिपा घर्ति पौडेल,मान बहादुर जिसी,ज्ञानुमाया के.सी, विष्णु बहादुर के.सी तथा अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष धर्म गिरीलाई पनि चुनावी अभियानको जिम्मेवारी दिइएको छ। युवा,महिला र अनुभवी नेताहरूको मिश्रणले अभियानलाई सबै तहमा फैलाउने रणनीति एमालेले अपनाएको देखिन्छ।


दोस्रो चरणको अभियान सरुमारानीबाट

एमालेले निर्वाचन केन्द्रित दोस्रो चरणको अभियान शुक्रबार सरुमारानी गाउँपालिकाबाट सुरु गर्ने जनाएको छ। यो चरणमा घरदैलो अभियान,टोल–भेटघाट,कार्यकर्ता परिचालन,मतदाता संवाद र संगठन सुदृढीकरणलाई प्राथमिकता दिइने बताइएको छ।
पार्टीले पालिका,वडा र टोल तहसम्म संरचना सक्रिय बनाउँदै चुनावी सन्देशलाई एकीकृत रूपमा प्रवाह गर्ने योजना बनाएको छ। स्थानीय मुद्दा,विकास निर्माण,रोजगारी र स्थायित्वका विषयलाई अभियानको मुख्य एजेन्डा बनाइने जनाइएको छ।

प्रतिस्पर्धी राजनीतिमा एमालेको तयारी

प्यूठानमा प्रतिस्पर्धी राजनीतिक वातावरण रहेको सन्दर्भमा एमालेले संगठनात्मक बल र अनुभवी नेतृत्वलाई आफ्नो मुख्य शक्ति मानेको छ। जिल्लाभर परिचित र प्रभाव भएका नेताहरूलाई मैदानमा उतारेर मतदाता विश्वास पुनः जित्ने प्रयास भइरहेको छ।
चुनावी मैदानमा प्रवेशसँगै एमाले प्यूठानले “जित सुनिश्चित गर्ने”लक्ष्यसहित आक्रामक तर व्यवस्थित अभियान अगाडि बढाउने संकेत गरेको छ।