म सपना बाँँड्न हैन जिल्लाको विकास गर्न आएको हुँ : मन्त्री थापा 

म सपना बाँँड्न हैन जिल्लाको विकास गर्न आएको हुँ : मन्त्री थापा 

प्यूठान,लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले आफू सपना बाँड्न नभई प्युठानमा विकासको मुल फुटाउन आएको बताउनुभएको छ।
म सांसद र मन्त्री मन्त्री मात्रै हुनका लागि होईन प्युठान जिल्लाबासीको सुखदुःखमा रहने र जिल्लाको विकास र समृद्धिका लागि काम गर्ने योजनाका साथ आएको हुँ।’जिल्लाको बिकास कसरी गर्ने भन्ने बारे संयन्त्र बनाउन लागिएको उहाँको भनाई थियो।
प्रदेशका अरु जिल्लाको तुलनामा प्यूठान जिल्ला विकासमा पछि परेको भन्दै उहाँले प्युठान जिल्लाको विकासका लागि निरन्तर काम गर्दै आएको बताउनुभएको हो ।
नेपाल पत्रकार महासंघ प्यूठानले शुक्रबार जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री थापाले प्यूठान जिल्लामा विकास बजेट विगतका वर्षमा भन्दा यसवर्ष बढी परेको दावी गर्नुभयो । उहाँले पछिल्लो समय सामाजिक सञ्जालमा बजेट परेन भनेर दुष्प्रचार गरिएको भन्दै प्यूठान जिल्लामा २ अर्व ४८ करोड ६२ लाख ५० हजार रुपियाँ बजेट परेको दावी गर्नुभयो । मन्त्रालय अर्न्तगत कतिपय बजेट दाङको शहरी विकास डिभिजन, कोहलपुरको पर्यटन डिभिजन अर्न्तगत रहने बताउनुभयो । उहाँले प्रदेशको बजेटको विषयलाई लिएर सामाजिक सञ्जालमा हतारमा टिप्पणी गरिएको गुनासो गर्नुभयो ।
उहाँले खानेपानीको समस्या सम्बोधन गर्न प्रदेश सरकारले प्राथमिकता दिएर बजेट विनियोजन गरेको बताउनुभयो । १२ वटै जिल्लामा खानेपानी योजना अधुरो रहेको भन्दै उहाँले त्यस्ता योजना सम्पन्न गर्न प्रदेश सरकारले ७७ करोड रुपियाँ विनियोजन गरेको बताउनुभयो ।
मन्त्री थापाले प्रदेश सरकारले गरेका योजना कार्यान्वयनको अवस्थालाई प्रभावकारी बनाउन अनुगमन संयन्त्र समेत बनाउनुपर्ने बताउनुभयो । त्यसका लागि तयारी गरेको उहाँको भनाई छ । गुणस्तरीय योजना निर्माणका लागि समुदाय स्तरबाट पनि सहयोगको लागि आग्रह गर्नुभयो । प्रदेश सरकारका कतिपय योजना अलपत्र परेको भन्दै समयमै योजना सम्पन्न गर्नुका साथै गुणस्तरीय बनाउन अनुगमन गरिने उहाँको भनाई छ ।