प्युठान नगरपालिका बाट उठ्यो कांग्रेसको चुनावी सुरुवात

प्युठान,नेपाली कांग्रेसका तर्फबाट प्युठान प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रा.डा. गोविन्दराज पोखरेलले आफ्नो चुनावी कार्यक्रमको औपचारिक सुरुवात प्युठान नगरपालिकाबाट गर्नुभएको छ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार रहनुभएका पोखरेलले आफ्ना चुनावी प्रतिबद्धता प्रस्तुत गर्दै अगुवा नेता तथा कार्यकर्तासँग भेटघाट सुरु गर्नुभएको हो। सोही क्रममा आज उहाँले प्युठान नगरपालिका–७ मा स्थानीय अगुवा कार्यकर्तासँग अन्तरक्रिया गर्नुभएको छ।
कार्यक्रममा बोल्दै पोखरेलले आफू राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहँदा सुरु गरिएका बहुप्रतिष्ठित राष्ट्रिय आयोजनाहरूको प्रभावकारी कार्यान्वयन आफ्नो प्रमुख प्राथमिकता हुने बताउनुभयो। साथै समयानुकूल कानुन निर्माण गरी युवालाई व्यावसायिक तालिमसहित रोजगारीमा जोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाली कांग्रेस प्युठानका सभापति विष्णुकुमार गिरिका अनुसार बिहीबार बसेको बैठकले चुनावी कार्यक्रमलाई स्थानीय तहका टोल–बस्तीसम्म पुर्‍याउने गरी योजना तयार गरेको छ। उहाँले जिल्लामा सभापतिको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी दिनुभयो।
त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्रीय समितिको समन्वयमा पालिका स्तरिय समिति, वडा तथा निर्वाचन बुथसम्म कांग्रेसको भावी कार्यदिशा लिएर मतदातामाझ पुग्ने तयारी गरिएको सभापति गिरिले बताउनुभयो।
अनुभव, क्षमता र प्युठानी मतदाताको रुचिलाई मध्यनजर गर्दै कांग्रेस प्युठानले प्रा. डा.पोखरेललाई प्रतिनिधिसभा उम्मेदवारका रूपमा अघि सारेको जनाएको छ।