प्युठान,फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्यूठानको राजनीतिक माहोल तातेको छ। विशेषगरी नेकपा (एमाले) प्यूठानले जिल्लाभर आफ्ना गतिविधि तीव्र बनाउँदै संगठन परिचालनदेखि कार्यकर्ता भेटघाटसम्म व्यापक अभियान अघि बढाएको छ।
उम्मेदवारी दर्तापछि एमाले प्यूठानले चुनावलाई केन्द्रमा राखेर रणनीतिक तयारी थालेको छ। पछिल्ला दुई दिनभित्र जिल्लाका ६ वटा स्थानीय तहमा पुगेर पार्टीले पालिका,वडा र टोल तहका पदाधिकारी तथा अगुवा कार्यकर्तासँग प्रत्यक्ष छलफल गरेको छ। पहिलो दिन स्वर्गद्वारी नगरपालिका,माण्डवी गाउँपालिका र सरुमारानी गाउँपालिकामा आन्तरिक बैठकहरू सम्पन्न भए भने दोस्रो दिन ऐरावती,मल्लरानी र प्यूठान नगरपालिकामा कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिएको प्रचार विभागले जनाएको छ।
यी छलफलहरूमा संगठनलाई थप चलायमान बनाउने, निर्वाचन केन्द्रित जिम्मेवारी स्पष्ट रूपमा बाँडफाँड गर्ने र स्थानीय तहसम्म पार्टीको प्रभावकारी उपस्थिति सुनिश्चित गर्ने विषयमा विशेष जोड दिइएको छ। पालिका कमिटीलाई अभियानको केन्द्रमा राख्दै वडा र टोल तहसम्म संगठन विस्तार गर्ने निर्णय गरिएको एमाले प्यूठानकी उपसचिव इश्वरा आचार्यले जानकारी दिइन्।
यसपटकको निर्वाचनका लागि एमालेले निवर्तमान प्रतिनिधिसभा सदस्य सूर्य थापालाई उम्मेदवारका रूपमा अघि सारेको छ। अघिल्लो कार्यकाल अधूरै रहँदा रोकिएका विकास निर्माणका योजनालाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याउँदै पार्टीले यस निर्वाचनलाई विकासको निरन्तरता र स्थायित्वसँग जोडेर हेरेको छ।
एमाले प्यूठानका अध्यक्ष विजय बिराज विष्ट वर्तमान राजनीतिक अवस्थालाई चुनौतीपूर्ण बताउँछन्। उनका अनुसार मुलुकको स्थायित्व,लोकतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा आजको प्रमुख आवश्यकता हो। “देशलाई अस्थिरतातर्फ धकेल्ने गतिविधिबाट सचेत रहँदै विकास र समृद्धिको बाटो रोज्न मतदाताले विवेकपूर्ण निर्णय लिनुपर्छ,”उनले भने।
एमाले प्यूठानले आगामी दिनमा घरदैलो अभियान,जनसम्पर्क कार्यक्रम र चुनावी सभाहरूलाई अझ सशक्त बनाउँदै निर्वाचनसम्म निरन्तर अभियान सञ्चालन गर्ने जनाएको छ। चुनावी प्रतिस्पर्धा चर्किंदै जाँदा प्यूठानको राजनीतिक रंगमञ्च झनै सक्रिय बन्दै गएको छ।
प्रतिक्रिया राख्नुहोस्