प्युठान,प्युठान नगरपालिकाबाट प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो चुनावी यात्रा सुरु गर्दै नेपाली कांग्रेसका उम्मेदवार प्रा.डा.गोविन्दराज पोखरेल फेरि एकपटक आफ्नै भूमिमा जनतासँग जोडिन व्यस्त देखिनुहुन्छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उहाँले अगुवा नेता तथा कार्यकर्तासँग प्रत्यक्ष भेटघाट गर्दै चुनावी अभियानको औपचारिक सुरुवात गर्नुभएको छ।
चुनावी कार्यक्रम अन्तर्गत पोखरेलले आज प्युठान नगरपालिका–७ का अगुवा कार्यकर्तासँग भेटघाट गर्नुभयो। भेटघाटका क्रममा उहाँले विकास,रोजगारी र युवामैत्री नीतिलाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राख्नुभएको बताउनुभयो। राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रूपमा कार्यरत रहँदा सुरु भएका बहुप्रतिष्ठित राष्ट्रिय आयोजनाहरूको प्रभावकारी कार्यान्वयन, समयानुकूल कानुन निर्माण र युवालाई व्यावसायिक तालिमसँगै रोजगारीमा जोड्ने विषय उहाँका मुख्य प्रतिबद्धतामध्ये छन्।
स्थानीय तहबाटै अभियानलाई बलियो बनाउने रणनीतिसहित नेपाली कांग्रेस प्युठान सक्रिय बनेको छ। बिहीबार बसेको बैठकले चुनावी कार्यक्रम टोलबस्ती तहसम्म पुर्याउने निर्णय गरेको नेपाली कांग्रेस प्युठानका सभापति विष्णुकुमार गिरिले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्लामा सभापतिको नेतृत्वमा १५१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।
प्रदेशसभा निर्वाचन क्षेत्रीय समिति,पालिकास्तरीय समिति हुँदै वडा तथा निर्वाचन बुथसम्म कांग्रेसको भावी कार्यदिशा लिएर मतदातामाझ पुग्ने तयारी भइरहेको छ।अनुभवी,विकासप्रेमी र प्युठानी जनताको विश्वास जित्न सफल पोखरेललाई कांग्रेसले प्रतिनिधिसभा उम्मेदवारका रूपमा अघि सारेको छ।
प्युठानको विकास यात्रालाई नयाँ गति दिने आशासहित सुरु भएको यो चुनावी अभियानले आगामी दिनमा झन् व्यापक रूप लिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्