नेपाल बन्दको प्रभाव प्युठानमा बिहानै देखि यातायात, बजार ठप्प बिध्यालय खुलेनन

नेपाल बन्दको प्रभाव प्युठानमा बिहानै देखि यातायात, बजार ठप्प बिध्यालय खुलेनन

राम बहादुर बिश्वकर्मा
प्युठान,६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले आह्वान गरेको बन्दको प्रभाव प्युठानमा बिहानैदेखि परेको छ। 

नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितको कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले सरकारले आइतबार एमसीसी पारित गरेको भन्दै सोमबार नेपाल बन्दको घोषणा गरेका हुन्।
नेकपा मसाल, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेकपा क्रान्तिकारी माओवादी, देशभक्त जनगणतान्त्रीक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानीक समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीले संयुक्त रूपमा नेपाल बन्द आह्वान गरेका हुन्। 

बन्द घोषणाका कारण बिहानैदेखि सडकमा सवारी साधन चलेका छैनन्। प्रेस,एम्बुलेन्स, सुरक्षा निकाय का गाडी चलेपनी सार्वजनिक सवारी साधन भने ठप्प छन्। जिल्लाका पसलहरु पनि खुलेका छैनन्।
उनीहरूले एमसिसी सम्झौता राष्ट्रघाती भएको आरोप लगाउँदै सरकारले संसदबाट एमसिसी पारित गरेर राष्ट्रघात गरेको आरोप लगाएका छन्।
चोक चोकमा भने केही स्थानमा मात्र आन्दोलनकारी देखिएका छन् । मुख्य सडकका धेरै ठाउँमा आन्दोलनकारी छैनन् । ठाउँठाउँमा सुरक्षाकर्मीको पनि बाक्लो उपस्थिति छ ।बन्द सफल पार्न भन्दै सोमबार साँझ जिल्लामा नेकपाका कार्यकर्ताले मसाल जुलुस निकालेका थिए।शिक्षण संस्थाले भने बन्दका कारण पठनपाठन सञ्चालन गर्न असहज हुने भन्दै आज विध्यालय सञ्चालन नहुने सूचना जारी गरेका थिए।बन्दका कारण यात्रुहरुले भने सास्ती पाएका छन्। विभिन्न स्थानमा यात्रु गाडी करिरहेका देखिन्छन् । तर गाडी नपाउँदा उनीहरु अलपत्र छन् । जिल्ला प्रहरी कार्यालय प्युठानले बन्दका क्रममा अहिलेसम्म कुनै अप्रिय घटना नभएको जनाएको छ ।
जिल्ला प्रहरी  कार्यालय प्युठानका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले जिल्लामा बन्दको प्रभाव आंशिक रूपमा परेको र कुनै अप्रिय घटना हुन नदिन सुरक्षा व्यवस्थाको पूर्ण तयारी गरिएको बताए ।