सिता बि.क
प्युठान,स्थानीय सरकार नागरिकको कति नजिक छ?उसका निर्णय र कामकारबाही नागरिकको अपेक्षाअनुसार छन् कि छैनन् ? यिनै प्रश्नको उत्तर खोज्ने एउटा साझा मञ्च बनेको थियो-सरुमारानी गाउँपालिकाको प्रथम चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम।
बड्डाँडास्थित बहुउद्देश्यीय सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका नेतृत्व,कर्मचारी र नागरिकहरुको एउटै हलमा उपस्थिति थियो।जब कार्यक्रमको सुरुवातमा प्रशासन शाखा प्रमुख लक्ष्मण आचार्यले प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रतिवेदनमार्फत हालसम्मका योजना,बजेट कार्यान्वयन र सेवा प्रवाहको अवस्थाबारे जानकारी दिइँदा नागरिकहरूले आफ्ना अनुभव र भोगाइका आधारमा बस्ती स्तरबाट उठेका प्रश्न प्रस्तुत गरियो।जहाँ सार्वजनिक सुनुवाइ औपचारिक कार्यक्रम मात्र नभई स्थानीय लोकतन्त्रको अभ्यासजस्तै देखिन्थ्यो।
बहिर्गमन अभिमत (Exit Poll) र नागरिक प्रतिवेदन (Citizen Report Card)विधिबाट आएका सवालहरूले शिक्षा,स्वास्थ्य,पूर्वाधार,पर्यटकीय स्थल र अनुदान जस्ता संवेदनशील क्षेत्रतर्फ गाउँपालिकाको ध्यान केन्द्रित गराए।
नागरिकहरूको आवाजमा अपेक्षा मात्र थिएन,चिन्ता पनि थियो।कतै सडक ढिलो बनेको गुनासो थियो,कतै खानेपानीको पहुँचको प्रश्न।अनुदान नपाएको पीडा थियो भने कृषकहरू उत्पादन र बजारको चिन्तामा थिए।ती सबै प्रश्नको जवाफ दिने क्रममा शाखा प्रमुखहरू र जनप्रतिनिधिहरूले समस्या स्वीकार गर्दै सुधारका प्रयासहरूबारे जानकारी दिए।
कार्यक्रमको अध्यक्षता गर्दै गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले नागरिकसँग प्रत्यक्ष संवाद गर्नु जनप्रतिनिधिको दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले “हामीले गरेका काम नागरिकले देख्न, बुझ्न र प्रश्न गर्न पाउनुपर्छ,”भन्दै सार्वजनिक सुनुवाइ पारदर्शिता र जवाफदेहिताको आधार भएको बताउनुभयो।
त्यस्तै उपाध्यक्ष बसन्ता खड्काले समावेशी विकासलाई गाउँपालिकाको प्राथमिकता रहेको बताउँदै महिला,बालबालिका,ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू लक्षित कार्यक्रमलाई परिणाममुखी बनाइँदै लगिएको उल्लेख गर्नुभयो। उहाँका अनुसार नागरिक सहभागिताले मात्र नीति र कार्यक्रम प्रभावकारी बन्न सक्छन्।
प्रमुख प्रशासकीय अधिकृत त्रिबिक्रम खड्काले प्रशासनिक दृष्टिकोणबाट सार्वजनिक सुनुवाइलाई ‘सुधारको ऐना’ का रूपमा चित्रित गर्नुभयो। उहाँले नागरिकबाट आएका आलोचना र सुझावलाई कार्यसंस्कृति सुधार,समयपालन र सेवाको गुणस्तर वृद्धि गर्ने आधार बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गाउँपालिकाले सार्वजनिक सुनुवाइबाट प्राप्त सबै सुझाव,प्रश्न र गुनासाहरूको लिखित अभिलेख तयार गरी तिनको कार्यान्वयन प्रगतिलाई सार्वजनिक गर्ने जनाएको छ। यो प्रतिबद्धताले सरुमारानी गाउँपालिकामा सुशासन,पारदर्शिता र उत्तरदायित्वको अभ्यासलाई अझ संस्थागत बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रमको सहजीकरण मल्लरानी मिडिया प्रा.लि.खलंगा,प्युठानले गरेको थियो।
प्रतिक्रिया राख्नुहोस्