गुरुङगाउँमा ल्होसार पर्व धूमधामका साथ सम्पन्न

राम बहादुर बिश्वकर्मा 
प्युठान,गुरुङ जातिको महान सांस्कृतिक पर्व ल्होसारको पावन अवसरमा प्युठान नगरपालिका–६,गुरुङगाउँमा शुभकामना आदान–प्रदान तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। गुरुङ्ग जातिको आफ्नो सांस्कृतिक परम्परालाई जगेर्ना गर्ने उद्देश्य सहित यो वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिइएको हो।
कार्यक्रममा गाउँभरको वातावरण साँच्चिकै उत्साहपूर्ण थियो। परम्परागत पोशाकमा सजिएका बालबालिका,युवाहरू,लोकगीतको सुरिलो धुन र नाच–गानले उपस्थित सबैको मन लोभ्याएको थियो। कार्यक्रममा विशेष रूपमा परम्परागत नाच–गान, गुरुङ जातिको लोकगीत,भेषभूषा प्रदर्शनी र कबिता,कथा–कथन जस्ता सांस्कृतिक प्रस्तुतीहरूले समुदायको समृद्ध सांस्कृतिक पहिचान झल्काएका थिए।
कार्यक्रममा विशेषत: युवा पुस्ताले आफ्नो सांस्कृतिक प्रतिभा प्रस्तुत गरेर सबैको मन लोभ्याए।उनीहरूको प्रस्तुतीले केवल मनोरञ्जन मात्र प्रदान गरेन तर पुराना परम्परागत मूल्य र सांस्कृतिक ज्ञानको संरक्षणमा पनि योगदान पुर्यायो।
लोक तथा दोहरी गायक सम्झना लामिछाने मगर,बोम बहादुर परियार,बसन्त सागर भण्डारी लगायतको प्रस्तुतिले दर्शकलाई थप मनोरञ्जन प्रदान गर्यो।
कार्यक्रममा उपस्थित व्यक्तिहरूले आपसी मेलमिलाप,सहकार्य र परम्परागत मूल्यहरूको संरक्षण गर्ने संकल्प व्यक्त गरे। सोही वडाका अध्यक्ष नरेन्द्र बहादुर पुनले ल्होसार पर्वले मात्र रमाइलो सिर्जना नगरी समुदायलाई एकताबद्ध बनाउने आपसी सहयोग र सद्भाव प्रवर्द्धन गर्ने अवसर पनि दिएको बताउनुभयो। उहाँका अनुसार ल्होसार मात्र नभई सम्पूर्ण चार्डपर्बहरू समुदायबीच सौहार्द,सांस्कृतिक पहिचानको संरक्षण र सामाजिक सद्भाव प्रवर्द्धन गर्ने उत्सव हुन।
कार्यक्रमको समापनमा उपस्थित सबैले आपसी सद्भाव र सामुदायिक एकताको सन्देश लिएर फर्किएका थिए।यसरी ल्होसार पर्व  केवल रमाइलोको अवसर मात्र नभएर हाम्रो सांस्कृतिक धरोहर जगेर्ना गर्ने,युवा पुस्तालाई आफ्नो जरा र परम्पराबीच जोड्ने महत्त्वपूर्ण सांस्कृतिक पर्वको रूपमा जीवित रहन्छ।