सिता बि.क
प्युठान,नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी संघ, जिल्ला शाखा प्युठानको १५ औँ साधारणसभा तथा सातौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।
अधिवेशनबाट रमेश गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।नवगठित कार्यसमितिको निवर्तमान अध्यक्षमा शुभास चन्द्र भण्डारी रहनुभएको छ।वरिष्ठ उपाध्यक्षमा कृष्ण रोकाय,द्वितीय उपाध्यक्षमा खोडस भण्डारी, सचिवमा श्रीधर रिजाल र कोषाध्यक्षमा जगत जिसी चयन हुनुभएको छ। सदस्यहरूमा अर्जुन बहादुर केसी, प्रकाश जिसी, पिताम्वर घिमिरे, चन्द्रकला श्रेष्ठ र दिनेश पोख्रेल रहनुभएको छ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा बलदेव आचार्य, टिकाराम पुन र रूक बहादुर खत्रीलाई चयन गरेको छ भने एक पद रिक्त राखिएको छ। प्रदेश प्रतिनिधिमा शुभास चन्द्र भण्डारी, मुक्ति पन्थी र जगत जि.सी चयन भएका छन् भने एक पद रिक्त रहेको छ।
कार्यक्रममा व्यवसायीहरूको क्षमता अभिवृद्धि, व्यवसाय प्रबन्धन तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले ७ सदस्यीय व्यवसायी प्रबन्धन तथा व्यवस्थापन कार्यदल गठन गरिएको छ। कार्यदलको संयोजकमा अर्जुनकुमार कक्षपती चयन हुनुभएको छ।सदस्यहरूमा शुभास चन्द्र भण्डारी,सुन्दर भण्डारी,कृष्ण रोकाय,श्रीधर रिजाल, खोडस भण्डारी र विनोद भण्डारी रहनुभएको छ।कार्यदलले व्यवसायिक अनुशासन, मूल्य स्थिरता, सेवा गुणस्तर तथा व्यवसायीमैत्री नीतिबारे सुझाव तयार गर्ने बताइएको छ।
अधिवेशनले संस्थाका अभिभावक एवं अग्रज व्यवसायीहरूको अनुभवलाई संगठनको हितमा उपयोग गर्न जिल्ला कार्यसमितिको पहिलो बैठकबाट सल्लाहकार समिति गठन गर्ने सुझाव दिएको छ। यसले संगठनलाई थप परिपक्व र मार्गदर्शनमुखी बनाउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सचिव श्रीधर रिजालले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विगतका गतिविधि,सदस्यता विस्तार र भावी योजना बारे जानकारी गराउनुभएको थियो। त्यस्तै कोषाध्यक्ष जगत जि.सी.ले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संघको आर्थिक अवस्था सन्तोषजनक रहेको जानकारी दिनुभएको थियो।
अधिवेशनको अवसरमा निवर्तमान अध्यक्ष शुभास चन्द्र भण्डारी,प्युठान नगरपालिकाका संस्थापक मेयर तथा संघका सल्लाहकार अर्जुनकुमार कक्षपती र प्रदेश सदस्य रूक बहादुर खत्रीले शुभकामना मन्तव्य व्यक्त गर्दै व्यवसायीहरूको हकहित संरक्षण,शैक्षिक सामग्रीको सहज आपूर्ति र संगठनात्मक एकता आवश्यक रहेको धारणा राख्नुभएको थियो।
रमेश गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कृष्ण रोकायले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको संघले जनाएको छ।
प्रतिक्रिया राख्नुहोस्