बाँच्दा प्रेरणा,गएपछि स्मृति : कृष्ण बहादुर भण्डारी "प्रधान"को जीवन

बाँच्दा प्रेरणा,गएपछि स्मृति : कृष्ण बहादुर भण्डारी "प्रधान"को जीवन

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठान नगरपालिका–९ मरन्ठाना पाखाचितिको आकाश अहिले अलि फाटेजस्तै देखिन्छ।हेरिरहँदा मनमा लाग्छ-हिउँदको चिसो हावा मात्र होइन,गाउँका ८८ वर्षीय कृष्ण बहादुर भण्डारीको बिदाइले पनि यहाँको हावामा केही गहिरो रिक्तता थपिदिएको छ।

गाउँको प्रारम्भिक चेतनामा एक नाम

२०२४ सालतिर गाउँमा न त सडक थियो,न त संचार।तर एकथरी मानिसहरूले भन्थे-“गाउँ चाहिँ भण्डारी प्रधानकै भरमा चलेको छ।”
कृष्ण बहादुर भण्डारी पञ्चायती शासनकालमा गाउँ पञ्चायतका प्रधान चुनिए।मात्र पद होइन,उनी गाउँको विश्वास थिए,इमान थिए,सम्पर्कको केन्द्र थिए।उनको नेतृत्वमा गाउँमाको बस्तीबस्तीमा मेलमिलापको संस्कार बढ्यो,काममा भागबण्डा भन्दा सहकार्यलाई महत्व दिइयो,शिक्षा र स्वास्थ्यका कुरा घरघरमै पुग्न थाले।
उनिसँग पदको अहंकार कहिल्यै भेटिएन।कहिलेकाहीँ गाउँलेले भन्दै गर्थे-“प्रधान साब,खेतको काम त अरूलाई दिनुस् न।”उहाँ मुस्कुराएर उत्तर दिन्थे-“प्रधानले पनि गाउँकै धुलो खाएर बाँच्नुपर्छ, नत्र कसरी थाहा पाउनु कि जनता कति गाह्रोमा छन्।”
यही कारण गाउँलेहरूले उनलाई प्रधानभन्दा पहिला मान्छेको रूपमा माने।विद्यालय निर्माण हुँदा जगमा कोदालो चलाउने हात उनकै,बाटो बनाउँदा ढुंगा बोक्ने काँध उनकै,कोही झगडामा परे,उनिहरुकै घर पुग्थे,बिरामी पारेको घरमा सबैभन्दा पहिला पुग्ने मान्छे पनि उनिनै।

श्रम,सरलता र इमानदारीको घर

उनि र उनकी धर्मपत्नीले १२ सन्तान हुर्काउने यात्रालाई सहज बनाउन कहिल्यै आसन खोजेनन्।जीवनका कठिनाइहरूलाई “कर्म” मानेर अघि बढ्ने भण्डारी दम्पतीका लागि घर केवल बसोबास मात्र थिएन-त्यो शिक्षा,अनुशासन र माया बाँडिने विद्यालय जस्तै थियो।आज भण्डारी परिवारका ५२ सदस्यहरू मध्ये:१३ जना सरकारी सेवामा,केही इन्जिनियर,केही डाक्टर,धेरैजसो शिक्षक र व्यवसायी,बाँकी आफ्नो-आफ्नै क्षेत्रमा अग्रसर।तर सफलताको बीउ एउटै हो,घरमा सिकाइएका मूल्यहरू।

गाउँले किन सम्झन्छन् उनलाई?

कसैले भन्छ -“उहाँ नभएको दिनदेखि गाउँ साँच्चिकै शून्य भयो।”अर्को भन्छ-“हामीलाई अभिभावक गुमाएजस्तै भयो।”गाउँका पुराना सडकहरू,खेतका डिलहरू,विद्यालयको ढोकामा टाँसिएका इँटाका पङ्क्तिहरू-सबैले साक्षी दिन्छन् कि कृष्ण बहादुर भण्डारी केवल व्यक्ति थिएनन्,उनी गाउँको एक युग थिए।


उनि गएर पनि गाउँलेहरूको दैनिक जीवनको कतै न कतै उनको उपस्थिती बाकि छ।बोलाइमा देखिने शान्ति,व्यवहारमा देखिने दृढता,छिमेकीको आवश्यकतामा उठ्ने हात-आज पनि गाउँका युवाले सिक्ने आदर्श यही हो।
गाउँले भन्छन्-“प्रधान साब त गए,तर उनको बाटो अझै हामीलाई देखाइरहेछ।”कृष्ण बहादुर भण्डारीको जीवन केवल उनको परिवारको कथा होइन यो मरन्ठानाको सामूहिक स्मृति हो,गाउँले बिर्सन नसक्ने एउटा जीवित मान्यतापुस्तक हो।