सरूमारानीमा अपांगता दिवस : अधिकार,अवसर र समावेशिताबारे विस्तृत छलफल

सरूमारानीमा अपांगता दिवस : अधिकार,अवसर र समावेशिताबारे विस्तृत छलफल

सिता बि.क
प्युठान,३४ औँ अन्तर्राष्ट्रिय अपांगता दिवस–२०८२ (डिसेम्बर३)सरूमारानी गाउँपालिकामा विविध कार्यक्रमसहित सम्पन्न गरिएको छ।
अपांगता भएका व्यक्ति तथा उनीहरू को हक–अधिकार,पहुँच,सहभागिता र समावेशी समाज निर्माणकाे उद्देश्यसहित मनाइने यो दिवस यस वर्ष पनि पालिका स्तरमै मनाइएको हो।
पालिकास्तरीय अपांग संजालका अध्यक्ष खोपिराम ठेणीको अध्यक्षता र पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो। प्रमुख अतिथि गाउँपालिका अध्यक्ष विश्वकर्माले स्थानीय सरकारले सञ्चालन गर्दै आएका सामाजिक सुरक्षा, सहायक उपकरण वितरण,पहुँचयुक्त पूर्वाधार निर्माणलगायत कार्यक्रमहरूलाई अझ विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक भवनहरूमा अपांगता मैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखिने बताउनुभयो।
उहाँका अनुसार अपांगता भएका व्यक्तिहरूको अधिकार संरक्षण तथा उनीहरूलाई स्थानीय निर्णय प्रक्रियामा सक्रिय रूपमा सहभागी गराउन पालिकाले निरन्तर काम गरिरहेको छ।
त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले अपांगता भएका व्यक्तिहरूलाई समान अवसर,पहुँच र सम्मानजनक जीवनका लागि आवश्यक पहलहरूको आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा जनप्रतिनिधि,विभिन्न समूहका अपांगता भएका व्यक्तिहरू,तिनका अभिभावक तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले अपांगता मैत्री पूर्वाधार,शिक्षा,स्वास्थ्य,रोजगार,सामाजिक सुरक्षा भत्ता तथा सीप विकास अवसर विस्तारका विषयमा सुझाव तथा मागहरू राखिएको थियो।
यसै अवसरमा हिमानन्द अर्यालको अध्यक्षतामा ११ सदस्यीय पालिका स्तरीय अपांग संजाल समिति पुनःगठन गरिएको छ। पुनर्गठित समितिले आगामी दिनमा अपांगता भएका व्यक्तिहरूको समन्वय,सहकार्य र अधिकार प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रमका क्रममा अपांगता भएका व्यक्तिहरूलाई लक्षित गरी‘अपाङ्गतालाई  बिपत्त सम्बन्धि प्रस्तुति समेत गरिएको थियो।प्रस्तुतिमा विपद्‌का बेला अपांगता भएका व्यक्तिहरूलाई बिपत्त,प्रकोप,सुरक्षा चुनौती,पूर्वतयारी,सुरक्षित स्थान पहिचान तथा अपांगता समावेशी उपायहरूको बारेमा पिपुल इन निड नेपाल प्रतिबद्ध परियोजनाका संयोजक बिनोद सुनारले प्रस्तुति गर्नुभएको थियो।सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रवक्ता चिन्त सोमे मगरको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रशासन प्रमुख लक्ष्मण आचार्यले गर्नुभएको थियो।