पत्रकार महासंघ प्यूठानको सहकार्यमा गौमुखी भ्रमण वर्ष : लक्ष्य एक लाख पर्यटक

पत्रकार महासंघ प्यूठानको सहकार्यमा गौमुखी भ्रमण वर्ष : लक्ष्य एक लाख पर्यटक

सिता बि.क 
प्यूठान,प्यूठानको गौमुखी गाउँपालिकाले घोषणा गरेको“गौमुखी भ्रमण वर्ष २०८२” लाई सफल बनाउन नेपाल पत्रकार महासंघ,प्यूठान शाखाले औपचारिक सहकार्य गर्ने भएको छ।
गाउँपालिकाभित्रका धार्मिक,प्राकृतिक र सांस्कृतिक सम्पदाको प्रवर्द्धन गर्दै एक लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सुरु गरिएको भ्रमण वर्षको प्रचार-प्रसारमा पत्रकार महासंघले महत्वपूर्ण भूमिका खेल्ने सहमति भएको बताइएको छ।
गौमुखी भ्रमण वर्ष अन्तर्गत सञ्चार क्षेत्रको भूमिकालाई अझ प्रभावकारी बनाउने उद्देश्यले सोमबार सूचना केन्द्र विजुवारमा आयोजित बैठकमा नेपाल पत्रकार महासंघ,प्यूठानले प्रचारप्रसारका लागि विविध सञ्चार अभियानहरू सञ्चालन गर्ने निर्णय गरेको छ।बैठकमा जिल्लाका सञ्चारकर्मीहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै भ्रमण वर्षका गतिविधिलाई राष्ट्रिय तहमा लैजाने रणनीतिहरूमा छलफल गरिएको थियो।
गौमुखी गाउँपालिकाका उपाध्यक्ष महावीर रानाले भ्रमण वर्षलाई सफल बनाउन गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनुभयो।
उहाँका अनुसार,“हरेक वडामा पर्यटनसँग सम्बन्धित कार्यक्रम सञ्चालनका लागि बजेट छुट्याइएको छ। मिडिया क्षेत्रसँग सहकार्य गर्दै हामी प्रचारमा व्यापकता ल्याउनेछौं।”
गाउँपालिकाको १८औं गाउँसभाबाट पारित भएको निर्णयअनुसार सञ्चालनमा आएको भ्रमण वर्ष कार्यक्रम स्थानीय झरना,तालतलैया,जंगल,धार्मिक स्थल,संस्कृति र परम्परागत बासस्थान (होमस्टे) को प्रवर्द्धनमा केन्द्रित रहनेछ।

गौमुखी क्षेत्रका प्रमुख गन्तव्य र सांस्कृतिक सम्पदा

गौमुखी गाउँपालिकाभित्र रहेका प्रमुख पर्यटकीय स्थलहरूमा गौमुखीधाम,बाइसमुल झरना,झाक्रिढुङ्गा, तामाखानी,नाङ्गी लेक, गुफा,रानीताल, गोद्रेचौर लगायतका क्षेत्रहरू पर्यटक आकर्षणका केन्द्र मानिन्छन्।
यस्तै,स्थानीय सांस्कृतिक सम्पदाहरूमा सोरठी, मारुनी,झ्याउरे, पञ्जेबाँचा जस्ता परम्परागत नृत्य तथा भजन–किर्तनहरू पनि समावेश गरिनेछ।

“गौमुखी भ्रमण वर्ष २०८२” सफल पार्न मिडियाको भूमिका निर्णायक : अध्यक्ष,श्रीराम भण्डारी नेपाल पत्रकार महासंघ,प्युठान 

नेपाल पत्रकार महासंघ, प्यूठानका अध्यक्ष श्रीराम भण्डारीले भ्रमण वर्षको सफलताका लागि सञ्चारकर्मीहरूको सक्रियता अपरिहार्य रहेको बताउनुभयो।
“गौमुखी भ्रमण वर्ष केवल गाउँपालिकाको अभियान होइन,यो प्यूठान जिल्लाकै पर्यटन प्रवर्द्धनको एउटा ऐतिहासिक अवसर हो।उहाँले भन्नुभयो,यसलाई सफल पार्न सम्पूर्ण सञ्चार क्षेत्रको समेत साझा दायित्व हो,मिडियाको सक्रिय सहभागिता बिना भ्रमण वर्षको सन्देश अपेक्षित रूपले फैलन सक्दैन,पत्रकार महासंघले यसलाई जन-जनमा पुर्‍याउन प्रतिबद्ध छ।”
उहाँका अनुसार पत्रकार महासंघसँगको सहकार्यले गौमुखी गाउँपालिकाले अघि सारेको भ्रमण वर्ष अभियानले प्यूठानको पर्यटन सम्भावनालाई उजागर गर्दै स्थानीयअर्थतन्त्र,रोजगार र सांस्कृतिक पहिचानलाई थप उचाइमा पुर्‍याउने विश्वास गरिएको छ। 
भ्रमण वर्षलाई लक्ष्यित गर्दै अर्खा गाउँमा होमस्टे सेवा सञ्चालनमा आएको छ भने ट्रेकिङ मार्ग विकास गर्दै आन्तरिक पर्यटकलाई २–४ दिन बस्न सक्ने वातावरण बनाउने योजनामा गाउँपालिका लागेको छ।
यसअघि, आर्थिक वर्ष २०७६/०७७ मा पनि गाउँपालिकाले पर्यटन वर्ष मनाएको थियो भने संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले जेठ १७ गते भ्रमण वर्ष २०८२ को औपचारिक उद्घाटन गर्नुभएको थियो।