राम बहादुर बिश्वकर्मा
प्यूठान,प्यूठानको सरूमारानी गाउँपालिकामा दशकौँदेखि सुरक्षित खानेपानीको प्रतिक्षामा रहेका स्थानीयहरूका लागि खुसी छाएको छ। गाउँपालिकाले नेपाल स्वास्थ्यका लागि पानी(नेवा) सँग साझेदारी गर्दै खानेपानी,सरसफाइ तथा स्वच्छता सम्बन्धी तीन ठूला आयोजना सञ्चालन गर्न बुधबार औपचारिक सम्झौता गरेको हो।
तस्बिर : नेपाल स्वास्थ्यका लागि पानी(नेवा) सस्था र सरूमारानी गाउँपालिकामा बिच सम्झौतामा गरिएको हस्ताक्षर पश्चात् लिएको तस्बिर
गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्मा र नेवा गण्डकी प्रदेश कार्यालय प्रमुख रमेश दाहालबीच सम्झौतापत्रमा हस्ताक्षर कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण आचार्य,वडा नम्बर ३,४ र ६ का वडा अध्यक्षहरू,गाउँपालिका इन्जिनियर,योजना शाखा प्रमुख,नेवाका योजना अधिकृत विनोद कोईराला र प्राविधिक कर्मचारीहरूको उपस्थिति थियो।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ भित्र ‘एक घर,एक धारा’अभियान अन्तर्गत १८५ घरधुरीमा खानेपानी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ। उक्त आयोजना सम्पन्न पश्चात् १ हजार ८ सय ४७ जनसंख्या लाभान्वित हुने पालिकाले जनाएको छ।
यसका लागि तीन वटा खानेपानी आयोजना कार्यान्वयनमा ल्याइनेछ।संझौतामा सरूमारानी-३ स्थित दुमई खानेपानी आयोजना,सरूमारानी-४ को डुम्रीखोला धनकोट खानेपानी आयोजना र सरूमारानी-६ चप्ली खोला बुढीचौर खानेपानी आयोजनालाई सम्पन्न गर्ने उल्लेख छ।
सम्झौतासँगै स्थानियवासीमा व्यापक उत्साह देखिएको छ।यी आयोजनाहरू सम्पन्न भएपछि सरूमारानीका नागरिकहरूले पहिलोपटक घरआँगनमै शुद्ध र भरपर्दो खानेपानीको पहुँच,सरसफाइ र स्वच्छता सेवामा गुणात्मक सुधार अनुभव गर्नेछन्।
आयोजना सम्पन्नका लागि नेवा सस्था मार्फत ७० लाख २९ हजार ४ सय ५१ रुपैयाँ र सरुमारानी गाउँपालिका मार्फत ४४ लाख ७२ हजार ६ सय १ गरि जम्मा १ करोड १५ लाख २ हजार ५२ रुपैयाँ खर्च हुने पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले जानकारी दिनुभयो।
“यो केवल खानेपानी आयोजना मात्र नभई यो विकास र जीवनस्तर उकास्ने अभियान हो,हामी योजनाको प्रभावकारी कार्यान्वयनमा कुनै कसर बाँकी राख्ने छैनौं।”उहाँले भन्नुभयो“सरूमारानीका जनता अब शुद्ध पानी र स्वच्छताको अधिकारबाट वञ्चित रहने छैनन्।
प्रतिक्रिया राख्नुहोस्