प्युठान,सरुमारानी गाउँपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाहरु मध्ये बाङ्गेशाल स्वास्थ्य चौकी पालिकाकै उत्कृष्ट स्वास्थ्य चौकी बन्न सफल भएको छ।
आर्थिक वर्ष २०८१/८२ मा पालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थाको न्यूनतम सेवा मापदण्ड मापन गर्दा सबैभन्दा उत्कृष्ट स्वास्थ्य चौकीको रुपमा बाङ्गेशाल स्वास्थ्य चौकी पर्न सफल भएको हो।
त्यस्तै उक्त अबसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने ६ जना स्वास्थ्य कर्मचारीलाई पुरस्कृत गरिएको छ।
पुरस्कृत हुनेहरुमा कार्यक्रममा रिखाराम पुन- स्वास्थ्य संस्था प्रमुख(बाङ्गेसाल),सिता पाण्डे-स्वास्थ्यकर्मी (हंसपुर),बिमला घर्ती मगर- नर्सिङ (बड्डाँडा),नमुना बि.क.-ल्याब असिस्टेन्ट (ढुङ्गेगढी),एक बहादुर हुङचुङ - सामुदायिक इकाइ (गनाहा)र कुमारी शोभा गाहा मगर-कार्यालय सहयोगी (ढुङ्गेगढी) रहेका छन्।
स्वास्थ्यकर्मीहरुले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उहाँहरुलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख टेकेन्द्र रायमाझीले जानकारी दिनुभयो।
स्वास्थ्य संस्थाहरुको न्यूनतम सेवा मापदण्डका आधारमा उत्कृष्ट स्वास्थ्य संस्था छनौट गरिएको र स्वास्थ्य संस्थाहरुको सुशासन,व्यवस्थापन,उपचारात्मक सेवा व्यवस्थापन र सेवा प्रवाहको आधारमा उत्कृष्ट स्वास्थ्य संस्थाहरू छनौट गरी सम्मान गरिएको बताइएको छ।
स्वास्थ्यकर्मीहरुलाई आफ्नो कार्यक्षेत्रमा थप उर्जाका साथ काम गर्ने प्रेरणा र हौसला मिलोस भनेर सम्मान गरिएको पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताउनुभयो।
स्वास्थ्य सेवा सबै नागरिकको पहुँचमा पुर्याउने हाम्रो प्रयासमा स्वास्थ्यकर्मीहरूको योगदान अमूल्य छ। उहाँले भन्नुभयो उत्कृष्टतालाई निरन्तरता दिन हामी प्रतिबद्ध छौं।
स्वास्थ्य क्षेत्र नागरिकको अत्यन्तै संवेदनशील भएकाले यसमा पारदर्शिता,जवाफदेहिता र सेवा गुणस्तरमा विशेष ध्यान दिन अध्यक्ष बिश्वकर्माले स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो।
पालिकाले हरेक बर्ष उत्कृष्ट स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुलाई सम्मान गर्दै आएको छ।
सरुमारानी गाउँपालिकाले स्वास्थ्य संस्थाहरूको सेवा विस्तार र गुणस्तरमा भएको सुधार प्रेरणादायी रहेको जिल्ला स्वास्थ्य कार्यालय,प्युठानका प्रमुख मधुसूदन खड्काले बताउनुभयो।
कार्यक्रममा पालिका उपाध्यक्ष बसन्ता खड्का, वडा नम्बर ४ का वडा अध्यक्ष तथा प्रवक्ता चिन्त बहादुर सोमै मगर,सामाजिक विकास संयोजक भिम बहादुर मर्साङी,प्रशासकीय अधिकृत लक्ष्मण आचार्य,वडा अध्यक्षहरू,कार्यपालिका सदस्यहरू,बिएनएमटी नेपाल प्युठानका प्रतिनिधि मनोज बैजाली लगायतको सहभागिता रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्